१६ कात्तिक ।

दक्षिणी धादिङको बेनीघाट रोराङ गाँउपालिका वडा नं. २ ब्रुसवाङका चेपाङ समुदायले बाग्मती प्रदेशका नवनियुक्त मूख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई माग पत्र बुझाएका छन् । उनीहरुले प्रति परिवार आवास सहित २ रोपनी जग्गा, खानेपानी, विजुली बत्ति, स्कुल तथा सडक भएको ठाँउमा छिटो भन्दा छिटो बस्ति स्थानान्तरणको माग राखेका छन् ।

वर्षाैंदेखि नेताहरुले बस्ति स्थानान्तरण गरिदिने आश्वासन बाँडेका थिए । तर लामो समयसम्म पनि बस्ति स्थानान्तरण नहुदा समस्यामा परेको भन्दै मूख्य मन्त्रीलाई माग पत्र बुझाएका हुन् । बस्ति स्थानान्तरण नहुने हो भने प्रत्येक घर परिवारमा खानेपानी सहितको धारो, आकाशे पानी संकलन गर्न प्रत्येक घरलाई १०/१० हजार लिटरको हिल ट्यांक, १० पात १२ फुटे जस्तापाता, बाह्रै महिना पर्याप्त पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि उत्पादन मूलक कार्यक्रम, जनता आवास कार्यक्रमबाट ३६ परिवारलाई नै घर बनाई दिनु पर्ने माग राखेका छन् ।

त्यस्तै, बालकक्षालाई दरवन्दी बनाई कक्षा ३ सम्म पढाउने व्यवस्था, आफुहरुले बुनेका डोका, भकारी विक्री गर्न बाहै महिना यातायातका साधन सञ्चालन हुने सडक सञ्जाल, गाँउलाई चेपाङ पर्यटक क्षेत्र बनाउन पूर्वाधार निमार्ण, र बु्रसबाङलाई चेपाङ संरक्षण क्षेत्र घोषणा गर्नु पर्ने माग पत्रमा उल्लेख छ ।

यसअघि वैकल्पिक उर्जामा आधारित लिफ्ट खानेपानी सोलार मिनी ग्रिड परियोजना तथा आयआर्जन कार्यक्रम र ब्रुसवाङ लिफ्ट खानेपानी परियोजनाको लागि आव २०७२/२०७३ मा खर्च गर्ने गरी १ करोड ४० लाख विनियोजन गरिएको बजेट अन्यत्र खर्च गरेर बु्रसवाङबासीलाई वेवास्ता गरिएको समेत माग पत्रमा उल्लेख छ ।

‘बस्ति स्थानान्तरण अपरिहार्य हो । बस्ति स्थानान्तरणको कुरा मैले नै उठाएको हो ।’ माग पत्र बुझ्दै मूख्य मन्त्री पाण्डेले भन्नुभयो, ‘ तँपाई बु्रसवाङबासी र तपाइहरुको समस्यासँग चिरपरिचित नै छु । मलाई सबै कुरा थाहा छ । फुर्सदमा घनभूत छलफल गरौंला ।

आफ्नो कार्यकालमा बस्ति सार्न सक्दो प्रयास गनर्छुे ।’ मूख्यमन्त्री पाण्डेले भने । यस अघि बु्रसवाङबासीले २०७३ साल मंसिर २४ गते धादिङवेशीमा भेटेर पाण्डेलाई माग पत्र बुझाएका थिए । त्यतिबेला खानेपानी, सडक, बत्ती, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा खर्च गर्नु भन्दा सबै सेवा सुविधा भएको स्थानमा बस्ती स्थानान्तरण गर्ने सहमत भएको बुद्धिलाल चेपाङले बताउनुभयो।

सहमती भएको कुरा कार्यन्वयन नभएपछि फेरी माग पत्र बुझाएका हौं, चेपाङहरुले अब चाहि आफुहरुको माग सुनुवाई हुने आशा गरेका छन् ।

खोरियामा छरेको मकैले ६ महिना मात्र खान पुग्छ । खानेपानी अभावले पैचो समेत गरेर जीवन धानिरहेका छौं । चेपाङले भन्नुभयो, ‘जंगली कन्दमुल, गिठ्ठा, भ्याकुर, वन तरुल, टाँकी, सिस्नु, च्याउ जस्ता खानेकुराले जीवन बचेको छ । बस्ति सर्ने र दुःखको गह्रौं भारी बिसाउने सुरक्षित ठाउँ कहिले सर्न पाइएला, बुद्धिलाल चेपाङले दुखेसो पोख्नुभयो ।

Facebook Comments