बागमती प्रदेशसभाको बैठक सोमबार दिउँसो तीन बजे बस्ने भएको छ । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
बैठकमा भ्याएसम्म सोमबार नै मुख्यमन्त्रीले विश्वासको मत लिने तर नभ्याए मंगलबार विश्वासको मत लिने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो ।
विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने र भागबण्डा मिलाउन केही मन्त्रालय फुटाउने मुख्यमन्त्री पाण्डेको तयारी छ । नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता पाण्डेले गएको कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्नुभएको हो ।
सभामुखसहित प्रदेशसभामा एक सय ९ मत रहेको छ । गठबन्धनमा रहेका दलहरूसँग ५९ मत रहेकाले पाण्डे नेतृत्वको सरकारले विश्वासको मत सहजै प्राप्त गर्ने देखिन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ ।
प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाएर १२ पुर्याउने र चार जना राज्यमन्त्री पनि नियुक्त गर्ने गरी सरकार विस्तारको तयारीमा गठबन्धन जुटेको छ ।










