२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रुविभ्यालीको अध्यक्षले नै लगाइदिए कार्यालयमा ताला

रुविभ्यालीको अध्यक्षले नै लगाइदिए कार्यालयमा ताला
सेयर गर्नुहोस्
०सेयर

उत्तरी धादिङको रुविभ्याली गाउँपालिकाको सदरमुकाम स्थित सम्पर्क कार्यालयमा पालिका अध्यक्षले लगाएको ताला अब असार र साउन २ महिना मात्रै खुल्ने भएको छ ।

दुई तिर कार्यालय हुँदा सेवाग्राही अलमलमा परेको कारणले असार साउन महिनामा खोल्ने र हिउँदको समयमा भने माथी गाउँपालिकाबाटै कार्य सम्पादन गरिने उहाँले बताउनुभयो ।

यहि कात्तिक २२ सूचना टाँस गरेर सम्पर्क कार्यालय सँधैको लागि बन्द गरिएको थियो । ‘कार्यालय खोल्नुपर्ने समयमा पनि कार्यालय बन्द गरेको अवस्थामा भेटिएकोले सधैको लागि बन्द गरिएको गाउँपालिका अध्यक्ष चेरुङ तामाङद्रा हस्ताक्षरित सूचनामा भनिएको थियो । तर पालिकामा बैंङ्क तथा वित्तिय संस्था नभएको र भौगोलिक विकटतालाई मध्येनजर गर्दै धादिङवेशींमा रहेको सम्पर्क कार्यालयमा लेखा शाखाको कर्मचारी मात्रै रहने गरि असार र साउन गरि २ महिना मात्रै सम्पर्क कार्यालय खुल्ने गाउँपालिका अध्यक्ष तामाङले बताउनुभएको छ ।

तिहारपछि २२ गते सोमबारदेखि नै कार्यालय खोल्नुपर्ने भएपनि कार्यालय खोल्न कोही कर्मचारी नआएपछि अध्यक्षले नै सूचना टाँस गरेर कार्यालय बन्द गराएको हो । ताला तोडफोड गरि कार्यालय संचालन गरेको पाइएमा विभागिय कार्वाहि गरिने समेत सुचनामा उल्लेख छ । प्रमुख प्रशासकिय अधिकृत लगाएत विषयगत शाखा प्रमुखहरुलाई गाउँपालिकाको कार्यालय सेर्तुङमा २४ घण्टाभित्र लिखित जवाफसहित हाजिर हुन अध्यक्ष तामाङले सूचनामार्फत नै जानकारी गाराउनुभएको छ ।

गाउँपालिकाले स्थानीय तह लागु भएदेखि नै भौगोलिक विकटताको कारण सेवाग्राहीलाई सेवा प्रवाहमा सहज गराउन जिल्ला सदरमुकाममा नै सम्पर्क कार्यालय संचालन गरी सेवा प्रवाह गर्दै आएको थियो । कार्यालयमा कर्मचारी नरहेको र सेवाग्राहीलाई सेवा प्रवाहमा ढिला सुस्ती भएको जनगुनासो बढ्न थाले पश्चात विगत ६ महिनादेखि नियमित छड्के चेक गर्दा पटक पटक कार्यालय बन्द रहेको भेटिएको गाउँपालिका अध्यक्ष तामाङले बताउनुभएको छ ।

दशैं तिहार जस्ता चाडपर्वहरुमा विदा बस्दा पनि सरकारले तोकेको भन्दा अगाडि नै विदा बस्ने र सरकारले नै तोकेको समयमा कार्यालय नखुलाएकोले पनि बाध्य भएर सूचना टाँस गर्नुपरेको अध्यक्ष तामाङको भनाई छ । गाउँमा रहेको कार्यालय त बन्द छ नै सदरमुकाममा रहेको सम्पर्क कार्यालय समेत बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

तिहार लगत्तै २२ गते सोमबार र २३ गते मंगलबार सेवा लिन आएका सेवाग्राही कार्यालयमा कोही नभेटिएपछि फर्किएका थिए । साउन २३ गते गाउँसभा सकेर सेर्तुङस्थित कार्यालयबाट सम्पर्क कार्यालय सदरमुकाम झरेका कर्मचारी आजसम्म कोही पनि गाउँ नफर्किएको स्थानीय सेवाग्राहीले गुनासो गरेका छन् । कर्मचारीहरु अधिकांश समय सदरमुकाममा नै बस्ने र सामाजिक सुरक्षा भत्ता बाँड्न मात्रै गाउँ पुग्ने गरेको सेवाग्राहीहरु बताउँछन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।