३ फागुन, धादिङ
वर्तमान सत्तारुढ गठबन्धनको नेतृत्वदायी दल नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग सम्झौता एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको आज सम्पन्न बैठकले आगामी प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबुल गरी पारित गर्ने निर्णय गरेको हो । बैठकमा नेपाली कांग्रेसका सांसदहरूले एमसीसीमा केन्द्रित भएर आ–आफ्नो धारणा राखेका थिए । परराष्ट्रमन्त्री डा.नारायण खड्का र पूर्वअर्थमन्त्री डा.रामशरण महतले एमसीसीबारे ब्रिफिङ गर्दै यसलाइ समयमै पारित गर्नुपर्ने विचार व्यक्त गरेका थिए । प्रधानमन्त्री शेर बहादुर देउवाले भने सभामुख अग्नि प्रसाद सापकोटालाइ भोलिको संसद बैठकमा एमसीसी टेबल गर्न दबाब दिईरहेको छ ।

यता सत्तारुढ गठबन्धन दलमा आवद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा लगायत अन्य दलका नेताहरु भने यथास्थितिमा एमसीसी पारित गर्न नहुने बताईरहेका छन् । आइतबार सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता र निलम्बन भएसँगै नेपालको राजनैतिक वातावरण तरंगीत बनेको छ । आसन्न स्थानीय तहको निर्वाचन, न्यायालयको विवाद, एमसीसी, सत्तारुढ गठबन्धन सरकारको भविष्य लगायतका राष्ट्रिय विषयहरु नयाँ मोडतिर अघि बेढेको छ ।