
२४ फागुन, धादिङ । ‘सामाजिक न्याय र लैंगिक समानता , दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ आज ११२ औँ अन्तर्राष्ट्रिय नारी / महिला दिवस धादिङ जिल्लामा विभिन्न कार्यक्रम गरि मनाएको छ । महिलाहरूको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्ने उद्देश्यका साथै महिला हिंसा नियन्त्रण, जागरण, सशक्तीकरण लगायत मुद्दालाई लिएर स्थानीय सरकार, नागरिक समाज, निजी संघ–संस्था र सरोकारवाला निकायहरूले यस वर्षको महिला दिवस मनाएको छ ।


सन् १९७७, ८ मार्चमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय नारी/ महिला दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा भने वि.स. २०१६ सालदेखि नियमित रूपमा नारी / महिला दिवस मनाउन सुरु गरेको हो । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी महिलालाई लैंगिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन सम्बन्धी हक, पैतृक सम्पत्ति लगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ ।



