धादिङमा पनि विश्व क्षयरोग दिवस मनाइएको छ । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाइएको हो ।
स्वास्थ्य कार्यालय धादिङको आयोजनामा सदरमुकाम धादिङबेसीमा पत्रकारसँग अन्तरक्रिया तथा धादिङवेशी पुछारबजारदेखी प्रभावत फेरी गरिएको थियो । क्षयरोग संक्रमण दर, मुत्युदर घटाउने उद्देश्यले गरिएको अन्तरक्रिया कार्यक्रममा क्षयरोग भनेको के हो, क्षयरोगका कारण, लक्षण र उपचारको बारेमा छलफल गरिएको थियो ।
धादिङमा क्षय रोग रोकथामका लागि काम भएको भए पनि सबै संक्रमित उपचारको दायरामा आउन नसकेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक बिष्णु रिजालले बताउनुभयो । धादिङमा १ सय ५३ जना क्षयरोगका विरामीहरुले औषधी सेवन गरिरहेको स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनुभयो ।
गत आर्थिक वर्ष २ सय ९ जना क्षयरोगका विरामीले औषधी सेवन गरेकोमा ९२ प्रतिशत विरामीहरु पूर्णरुपमा निको भएको उहाँले बताउनुभयो । धादिङमा प्राथमिक स्वास्थ्य केन्द्र जिल्ला स्तरिय स्वास्थ्य संस्थाहरुमा खकारको जाँच गर्ने व्यवस्था भएकाले क्षयरोगका लक्षण देखिएका विरामीहरुले स्वास्थ्य लाभ लिन सकिने उहाँले बताउनुभयो ।
सरकारले क्षयरोगको औषधि उपचार निःशुल्क दिँदै आएपनि चेतनाको अभावका कारण अझैँ पनि रोग लुकाउने गरेका छन् ।
सुक्खा खोकी लाग्ने, शरीरको तौल घट्ने र रातिराति ज्वरो आउने लक्षण देखिए क्षयरोग भएको हुनसक्ने चिकित्सकहरू बताउँछन् । कतिपयलाई भने क्षयरोगको लक्षण देखिँदैन । क्षयरोगको लक्षण देखिए वा क्षयरोग भएकाहरूको सम्पर्कमा पुगेको भए स्वास्थ्य परीक्षण गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले अनुरोध गरेको छ ।











