१५ चैत्र, २०७८
नेपाल चेपाङ संघ जिल्ला समन्वय समिति चितवनले चैत्र १३ गते आईतबारका दिन चितवन जिल्लाको माडी नगरपालिका वडा नम्बर ९ स्थित कुसुमखोलामा अवस्थित चेपाङ समुदायको बस्तिमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनद्धारा गरिएको ज्यादतीको विरोध गरेको छ । नेपालको सिमान्तकृत समुदायको सुचिमा सुचिकृत चेपाङ समुदायको बस्तिमा, पूर्व जानकारी बिना एक्कासी निकुञ्ज प्रशासनद्धारा १७ वटा भन्दा बढि घर भत्काउनुका साथै आगो लगाई ध्वस्त पार्ने, जस्ता अमानवीय कार्य प्रति चेपाङ संघले भत्र्सना गरेको छ ।

चेपाङ संघ चितवनका अध्यक्ष भिम बहादुर चेपाङद्धारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनको यस्ता अमानविय, अपराधपूर्ण कार्य प्रति घोर भत्र्सना गर्दै, यस कार्यमा संलग्न माथी सत्य तथ्य रुपमा छानविन गरि दोषी उपर कडा भन्दा कडा कारबाहीको लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । साथै क्षति भएका घर परिवारको लागि उचित क्षतिपूर्तीको पनि माग गरेको छ । निकुञ्जको अमानवीय हर्कत प्रति आदिवासी जनजाति सम्वद्ध विभिन्न संघ-संस्थाहरुले विरोध जनाएको छ । निकुञ्जले, निकुञ्ज भित्रको बस्ति हटाउने नाममा यस अघि पनि यस्तै हर्कतहरु गरेको थियो ।

Facebook Comments