स्थानीय तहको निर्वाचन नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालय धादिङले नमुना मतदाता कार्यक्रमलाई तीव्रता दिएको छ । आज जिल्ला निर्वाचन कार्यालय धादिङको आयोजनामा जिल्ला समन्वय समिति धादिङको परिसरमा नमुना मतदान कार्यक्रम गरिएको हो ।
नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका र सिद्धलेक गाउँपालिका लगाएत विभिन्न स्थानीय तहमा निर्वाचनको समयमा खटिने कर्मचारीहरुलाई नमुना मतदान कार्यक्रम संञ्चालन गरिएको हो । कार्यक्रममा मतदान स्थलको सुरक्षा, कस्ता मतदाताले मत हाल्न पाउने, बुथ क्याप्चर भईहालेमा के गर्ने, निमिदा मत पत्र लगायत भईपरि आउने समस्या र समाधानका विषयमा जिल्ला निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञावलीले सहजीकरण गर्नुभएको थियो ।
नमुना मतदान केन्द्रमा महिला, पुरुष, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिका लागि छुट्टाछुट्टै प्रवेश गर्ने बाटो बनाइएको थियो । प्रवेश गर्ने ठाउँमा म्यादी प्रहरी खटिएका थिए । विगतका वर्षमा चुनाव नजिकिँदै गर्दा मतदाता शिक्षा सञ्चालन भएकोमा यसपटक नभएको हो ।
मतदाता शिक्षा नहुँदा मत बदरको सम्भावना बढी हुने भएकाले नमुना मतदान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मतदाता शिक्षा सञ्चालन भएको वर्षमा समेत मत बदर हुने गरेको पाइएकाले यस वर्ष मतदाता शिक्षा नभएकाले नमुना मतदान गरिएको हो ।











