३ असार, २०७९
धादिङ – सहकारी क्षेत्रको सुचना, तथ्याङ्कहरूलाई नियमित, विश्वसनीय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली ‘कोपोमिस’ हो । यो सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरू अनुरूप सहकारी क्षेत्रको प्रवर्द्धन गर्दै यस क्षेत्रमा देखिएका चुनौती सामना गर्न र गरिबी निवारण कार्यलाई प्रभावकारीरुपले सञ्चालन गर्नका लागि सघाउ पु¥याउन तयार गरेको हो । कोपोमिस वेबमा आधारित प्रणाली हो । इन्टरनेट सुविधा उपलब्ध हुने स्थानमा यो सुविधा प्रयोग गर्न सकिनेछ ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७५ सालको पौषदेखिनै नेपालका सहकारी संघ / संस्थाहरुलाइ एकिकृत विद्युतिय व्यवस्थापन सुचना प्रणाली (Co-Operative and Poverty Management Information System) – COPOMIS संचालनमा ल्याएको थियो । लामो समय सम्म यो सुचना प्रणालीको प्रभावकारी प्रयोग हुन सकेन । पछिल्लो समय पुनः यस प्रणालीलाइ प्रभावकारी प्रयोग र अनिवार्य गरि नेपालको समग्र सहकारीको व्यवस्थापन र नियमन गर्न सहकारी विभाग लागेको छ ।
सहकारी विभगले सहकारी ऐन २०७४ को दफा ७२ र सहकारी नियमावली २०७५ को नियम २८ को उपनियम (१) र (४) मा उल्लेख गरिएको कानुनी ब्यवस्था अनुसार सहकारीले काम गर्न निर्देशन गरेको छ । यसका साथै सहकारी ऐन २०७४ को दफा १५ (क) अनुसार सम्पत्ती सुद्धिकरण निवारण सम्बन्धी निर्देशन, २०७४ को निदर्शेन नम्बर २९ र सहकारी संघ / संस्थाहरुको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका, २०७७ को दफा ३ मा समेत सहकारी व्यवस्थापन सुचना प्रणालीमा अनिवार्य आवद्धता सम्बन्धी व्यवस्था गरेको छ । साथै सकारी संस्थाहरुले प्रत्येक महिनाको ७ गतेभित्र मासिक, प्रत्येक चौमासिक अवधि व्यतित भएको १५ दिनभित्र चौमासि र प्रत्येक आर्थिक वर्ष व्यतित भएको ३० दिनभित्र वार्षिक वित्तिय प्रतिवेदन तोकिएको ढाचाँमा कोपोमीसमा उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था गरेको छ ।

सहकारी विभागले सहकारी सम्बन्धी आवश्यक नीति तथा योजना निर्माण गर्न सहकारी क्षेत्रको समष्टिगत तथ्याङक आवश्यक हुने भएकोले सहकारी संघ/संस्थाहरुले आफ्नो विवरणहरु वार्षिक रुपमा कोपोमिस प्रणालीमा आवद्ध गराउन आवश्यक सहयोग र समन्वय गरिदिन अनुरोध गरेको छ । जसमा राष्ट्रिय सहकारी महासंघ, विषयगत केन्द्रिय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, विशिष्टिकृत सहकारी संघ, प्रदेश संघहरु, जिल्ला सहकारी संघ र प्रारम्भिक सहकारी संस्थाहरुलाइ पत्राचार गरेको छ ।
यस सुचना प्रणाली सहकारी विभागको वेभसाईट www.deoc.gov.np र www.copomis.gov.np मा हेर्न सकिने छ । User name र pssword नलिएका संघ संस्थाहरुले आफ्नो नियामक निकाय वा सहकारी विभागमा सम्पर्क गर्नुपर्नेछ । त्यसका लागि सहकारी विभागको इमेल ठेगाना sahakaribivag@gmail.com मा संघ/संस्थाको नाम, दर्ता नम्बर र आधिकारी इमेल र ठेगाना सहित संस्थाको लेटर हेडमा पत्र पठाउनु पर्नेछ । सहकारी संघ/संस्थाहरुले कोपोमिस प्रणाली विवरण प्रविष्ट गर्दाको दिनसम्मको यथार्थ विवरण आ.व.२०७०/०८० को असार मसान्तसम्म र प्रत्येक आर्थिक वर्षको माघ मसान्त भित्र अनिवार्य भर्नुपर्नेछ ।