१७ असार, २०७९
धादिङ – निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लागि मिति सिफारिस गर्ने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले केहि दिनभित्र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति सरकार समक्ष सिफारिस गर्ने बताउनु भएको छ । साथै आसन्न निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमा नै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुने पनि आयोगले जनाएको छ । निर्वाचन आयोग र राजनैतिक दलहरुले आगामी कार्तिक महिनाको अन्तिम वा मंसिरको पहिलो हप्तामा निर्वाचन गर्ने गरि सोहि अनुसारको निर्णय गर्ने आँकलन गरिएको छ ।
सामान्य त निर्वाचनको मिति घोषणा भएको मितिले कम्तीमा पनि १ सय २० दिनको समय निर्वाचन तयारीको लागि आवश्यक पर्ने हुन्छ । निर्वाचन आयोगले सातवटै प्रदेश र केन्द्रिय स्तरमा पनि यस अघि सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गरिसकेको छ । समीक्षामा स्थानीय तहको निर्वाचनमा देखिएका समस्या र कमि कमजोरिहरुलाइ सुधार गरि आगामी निर्वाचन सम्पन्न गर्ने तयारी आयोगले गरेको छ ।
विद्युतीय मतदानयन्त्रको प्रयोग गर्न सरकारलाइ आग्रह-
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन सरकारलाई आग्रह गरेको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई छिटो छरितो, सुरक्षित, विश्वासिलो तथा स्वच्छ बनाउन आयोगले यस्तो आग्रह गरेको हो । आयोगले यस सम्बन्धमा नेपाल सरकारलाइ पत्रचार गरिसकेको पनि निर्वाचन आयोगले जनाएको छ । विद्युतीय मतदानयन्त्र प्रयोगको लागि स्वदेशमा निर्मित विद्युतीय मतदानयन्त्र र विदेशबाट ल्याएर पनि व्यवस्थापन गर्न सकिने जनाएको छ । आयोगले संविधान तथा सङ्घीय कानुनबमोजिम हुने राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्न सक्ने कानुनी व्यवस्था गरेको छ ।