भद्रकाली सामुदायिक विकास समाज मलेखुले आयोजना तीज विशेष कार्यक्रम
आज हिन्दु महिलाहरूले हरितालिका तीज मनाइरहेका छन् । विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना तथा अविवाहितले असल श्रीमान प्राप्तीको कामना गर्दै यो पर्व मनाउने गरिन्छ ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा भगवान महादेवको पूजा आराधना गरिन्छ। आज व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरेर भगवान महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।
सत्ययुगमा भाद्र शुक्ल तृतीयाका दिन कठोर व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजव्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
तीजको अवसरमा आज धादिङका विभिन्न स्थानमा तीज विशेष कार्यक्रमहरु भएका छन् । आज गजुरीको आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा राष्ट्रिय कलाकारहरुको साथमा तीज विशेष कार्यक्रम भएको छ । रुद्रेश्वर आमा समूह तथा गजुरी सामुदायिक विकास समाजले संयुक्त रुपमा आयोजना गरेको तीज विशेष कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक रामजी खांड, वविता बानियाँ (जेरी), प्रताप दास, हाँस्य कालाकारहरु सुरेन्द्र केसी (मुला साग) लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए ।
यस्तै मलेखुमा पनि राष्ट्रिय कलाकारहरुको साथमा तीज विशेष कार्यक्रम भएको छ । भद्रकाली सामुदायिक विकास समाज मलेखुले तीज विशेष कार्यक्रमको आयोजना गरेको हो । यस्तै तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङले “आँखा स्वास्थ्य सचेतना” शिर्षकमा तिज गित प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगीतामा ज्योती महिला समुह प्रथम, प्रगतीशिल महिला समुह द्धितिय, क्रियाशिल पत्रकार महिला समुह तृतिय भएका छन् । प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश १२ हजार, १० हजार, ८ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगीतामा ६ ओटा समुहको सहभागीता रहेको थियो । सहभागी अन्य समूहलाई आयोजकले २/२ हजार नगद प्रदान गरिएको छ ।












