धादिङको वेनिघाट रोराङ गाउँपालिका–३ माथिल्लो ओर्वाङका ८३ वर्षिय झाक्री जितबहादुर चेपाङ न्वागी पर्वमा मन्त्र जप्दै ।


धादिङ,२३ भदौ । सानो घर, घर भित्रको एक कुनामा वर्ष भरि बारीमा फलेका तरकारी तथा फलफुल । नाङ्लोमा धान, चामल, कागती लगायतका फलफुल । आडैमा बसेर भूमि पुजा र पितृ बुझाउन चेपाङ झाँक्री (पान्दे) को ढ्याङ्ग्रो ठटाएर गुन्जी रहेको मन्त्र । न्वागी मनाउन आइपुगेका आफन्त र छरछिमेकीका मिठा बात र नाँचगान । चेपाङ समुदायकै राष्ट्रिय पर्व न्वागी यो वर्ष पनि मनाएका छन् । चेपाङ झाँक्री (पान्दे) हरु भन्छन्,– ‘नयाँ बाली पितृलाई बुझाउने र अन्न फलेको भुमिको पुजा गरेर कुल रिसाउन र अनिष्ट हुनबाट बच्न न्वागी मनाउँछौं ।

धादिङको वेनिघाट रोराङ गाउँपालिका–३ माथिल्लो ओर्वाङका ८३ वर्षिय जितबहादुर चेपाङ मूल झाक्री हुनुहुन्छ । न्वागी अर्थात ‘छोनाम’ मनाउन गत रात उनले रातभर मन्त्र फलाकेर विताउनुभयो । नयाँ बाली पाकेपछि पितृलाई नबुझाई र भूमि पुजा नगरी खाए पितृ र कुल रिसाउँछ, अनिष्ट हुन्छ भन्ने जनविश्वास छ । उहाँले भन्नुभयोे,– ‘नयाँ बाली पितृलाई नबुझाई र अन्न फलेको भुमिको पुजा नगरी खायो भने कुल रिसाउछ, मानिस विरामी पर्छ, अनिष्ट भएरै छोड्छ । रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमीलाई धन्यवाद दिने गरिन्छ । संस्कृति जोगाउन, रमाइलो गर्न तथा भूमि र पितृ बुझाउन न्वागी मनाउदै आएका छौं ।’ उहाँले भन्नुभयो ।

झाक्री जितबहादुर चेपाङ न्वागीमा विरामीलाई झारफुक गर्दै।


धर्म परिवर्तनले हाम्रो संस्कृति धरापमा परेको छ । पहिचान र संस्कृति अस्तित्वको लडाईमा रहेको उहाँले बताउनुभयो । अहिले धेरै किसिमका धर्म आउन थाले । उहाँले भन्नुभयो,– ‘हामी चेपाङले हाम्रै संस्कृति चिन्न र जोगाउन मुस्किल छ । म २२ वर्ष हुदा देखि पुजा गर्दै आएको छु । म झाक्री हुन्छु भनेर हुन पाउने होइन । सपनामा आउन पर्छ । सानै हुदा सपनामा आएपनि पछि याद हुन्छ र झाक्री बन्न सकिन्छ । म अहिले ८३ वर्षको भएँ । हामीलार्ई खान दिने भूमि र पितृको पुजा नगरी हामी कसरी सन्तुष्टि लिन सक्छौं । हामी भन्दा पछाडीका पिँढीले संस्कृति जोगाउन सक्छ कि नाइ चिन्ता लाग्छ ।’ उहाँले भन्नुभयो ।

यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौला लगायत कन्दमुल पितृलाई बुझाउने र अन्न फलाउने भूमिलाई पुजा गरी धन्यवाद दिने चलन छ । जेष्ठ नागरिकले संस्कृति जगेर्नाको चासो गरिरहदा ओर्वाङका चेपाङ समुदायमा युवा झाक्रीहरु पनि भेटिन्छन् । ओर्वाङकै सोमबहादुर चेपाङ पनि गत मध्यरातमा ढ्याङ्ग्रो बजाएर फलाकिरहेका थिए । २२ वर्षिय चेपाङ भन्नुहुन्छ,– ‘आफुलाई सानैमा सपनामा आएर मन्त्र दिएको थियो । त्यति खेर याद भएन । तर १२÷१५ वर्ष हुदाँ याद आयो, म झाक्री भएँ । हाम्रा अघिल्लो हजुरबा, बुबाहरुको पुस्ताबाट सिक्दै हामी युवा पुस्ताले हाम्रो सबै भन्दा ठूलो पर्व न्वागी मनाउदै आएका छौं ।’ उहाँले भन्नुभयो ।

उत्पादित कृषि जन्य उत्पादन मात्र होइन । न्वागीमा बलि दिने चलन पनि रहेको चेपाङ संघ बागमती प्रदेश समितिका कोषाध्यक्ष उद्दव चेपाङले बताउनुभयो । न्वागीमा झाक्री बसेर रातभर सिमेभुमे फलाकेर रात विताउने गर्छन् । उहाँले भन्नुभयो,– ‘भोलिपल्ट पितृ बुझाउने, कृषि जन्य उत्पादन हुने भूमिलाई धन्यवाद दिने र पितृलाई भोग (बलि) दिने गरिन्छ । हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाइन्छ । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पूजा गरिन्छ ।

धादिङको वेनिघाट रोराङ गाउँपालिका–३ माथिल्लो ओर्वाङका २२ वर्षिय सोमबहादुर चेपाङ न्वागीमा मन्त्र जप्दै ।


चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ । यसका लागि चेपाङ झाँक्री (पान्दे) हरुले एकपाखे ढ्यांग्रोे ठोक्दै कुखुराको बली चढाउने प्रचलन रहिआएको छ ।’
धादिङ जिल्लाको नाम पनि चेपाङ (प्रजा) भाषाबाटै राखिएको भन्ने कथन रहेको छ । ‘धा’ भनेको ‘आगोको ज्वाला’ र ‘दिङ’ भनेको ‘देवी देउता’ हो । यसैलाई मिलाएर धादिङ नाम बसेको हो । चेपाङहरु पहिलादेखि नै यहाँ बसोबार गरेको र उनीहरुले पुजा गर्ने ज्वालामुखी देवीको मन्दिर पनि यसै जिल्लामा रहेकोले चेपाङ भाषाबाट नै जिल्लाको नाम ‘धादिङ’ रहन गएको हो भन्ने कथन छ ।

चेपाङहरू मुख्यगरी प्रकृति धर्म मान्छन् । उनीहरू जंगलका गिठा भ्याकुर खाएर जीवन धान्ने भएकाले वनजंगलसँग राम्रो साइनो गाँसिएको छ । त्यसैले प्रकृतिको पूजा उनीहरूका लागि महत्वपूर्ण हुन्छ । यो वर्ष पनि वर्षभरी मृत्यवरण गरेका परिवारका सदस्य र आफन्तको नाममा बुधबार रातभर ढ्याङ्ग्रो ठटाउदै फलाकेर विहान न्वागी पुजा गरेका छौं । न्वागी मनाउदै गरेकी ओर्वाङकी निर्मला चेपाङ भन्नुहुन्छ्,– ‘नेपालका हरेक जाती विशेषको आफ्नै संस्कार छ । आफ्नै रितिरिवाज छ, आफ्नै भेषभुषा छ । जाती अनुसार रोचक र अनौठा किसिमले पर्वहरु मनाइन्छ । हाम्रो चेपाङ समुदायको पनि छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख दुःख साटेर न्वागी मनायौं ।’

न्वागी पर्वमा नाँच गान गर्दै ओर्वाङबासी ।


धादिङको दक्षिणी क्षेत्रको विभिन्न ठाउँमा चेपाङ जातिको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार चेपाङ जातिको जनसंख्या ६८ हजार ३ सय ९९ जना रहेको छ । उनीहरुको ठाउँ र कुल अनुसार पनि न्वागी मनाउने चलन फरक फरक छ । भेला भएर ढ्यांग्रोे बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ । न्वागीको दिनलाई चेपाङहरुले वारनाको रूपमा मनाउने चेपाङ संघ धादिङका अध्यक्ष भीमबहादुर चेपाङले बताउनुभयो ।

Facebook Comments