
पुस १६ –
इंग्लिस प्रिमियर लिग फुटबलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले जित बिहिन यात्रा तोड्न सकेको छैन ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड साउथह्याम्पटनसँग गोल रहित बराबरीमा रोकियो । लिगमा यो म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो बराबरी हो । यसअघि लेस्टर सिटी र बर्नलीसँग म्यानचेस्टर युनाइटेड समान २–२ को बराबरीमा रोकिएको थियो ।
लगातारको जित बिहीन यात्राले युनाइटेड उपाधि होडमा घरेलु प्रतिस्पर्धी पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी भन्दा निकै पछि परेको छ । साउथह्याम्पटनसँगको गोलरहित बराबरीपछि तेस्रो स्थानमा झरेको युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १४ अंकले पछि रहेको छ । यो खेल जितेको भए उसले अंक दूरी १२ मा झार्न सक्ने थियो ।

तर स्टोक सिटीलाई ५–० ले हराएको चेल्सी म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो । युनाइटेडको २१ खेलबाट ४४ तथा चेल्सीको ४५ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५८ अंक छ ।
यो खेलमा ८२ औँ मिनेटमा पउल पोग्बाले गोल गरेका थिए । तर उनले अफसाइडमा रहेर गोल गरेकाले रेफ्रीले त्यसलाई मान्यता दिएनन् ।
यस्तै पहिलो हाफमै युनाइटेडका स्ट्राइकर रामेलु लुकाकुलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो । उनी गोल गर्नका लागि बल पोस्टप्रहार गर्ने क्रममा चोटग्रस्त भएका हुन् ।
