सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर एकमा बाग्मती प्रदेशका मुख्यमन्त्री एवं् एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे चुनावी मैदानमा हुनुहुन्छ । पञ्चायती व्यवस्थाका रहँदैदेखि नै संसदीय राजनीतिमा सक्रिय पाण्डे पटक पटक धादिङबाट निर्वाचित हुनुभएको छ ।
२०४३ सालमा जिल्ला पञ्चायतको सभापति हुनुभएका राजेन्द्र प्रसाद पाण्डे त्यसयता २०४८, ५१, ५६ र ७० मा प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । त्यस्तै २०७४ सालको आम निर्वाचनमा भने पाण्डे बाग्मती प्रदेशसभाका लागि निर्वाचित हुनु भयो । २०६४ सालको संविधानसभा निर्वाचनमा भने पाण्डे नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलसँग पराजित हुनु भएको थियो ।
पटक पटक संसदीय निर्वाचनमा विजयी भएका पाण्डे यस पटकको निर्वाचनमा पनि विजयी हुनेमा ढुक्क देखिनुहुन्छ । सत्तागठबन्धनको तर्फबाट उम्मेदवारी प्रस्तुत गर्नु भएका पाण्डेले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गर्नुभएको छ । धादिङ जिल्लाको विकासमा सँधै आफ्नो ध्यान रहेको र काम पनि गरेको पाण्डेको दाबी छ ।
धादिङको वहु क्षेत्रको विकासमा आफूले काम गरेको दाबी गर्ने पाण्डे आगामी दिनमा बुढिगण्डकी आयोजना निर्माण, समानान्तर राजमार्ग र कृषि विश्वविद्यालय स्थापना गर्ने मुख्य काम रहेको बताउनुहुन्छ । विगतमा आफूले गरेको विकासको काम र योगदानलाई हेरेर मतदाताले मत जाहेर गर्ने बताउँदै पाण्डे आफ्नो जीत सुनिश्चित भएको बताउनु हुन्छ । विकासका मुद्दाहरुमा अरुको भन्दा फरक धारणा रहेको नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले बताउनु भएको छ ।
देशमा अहिले चलिरहेको मोडललाई परिवर्तन गरेर विशेष विकासका योजनाहरु एक वर्षमा एउटा क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्दै जम्कट्टेलले एकिकृत रुविभ्यालीको योजना पनि नयाँ र फरक मोडलको योजना रहेको बताउनु भयो । धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश २ का उम्मेदवार समेत रहनु भएका जम्कट्टेलले आफ्नो कार्यकालमा प्रदेश सरकारको तर्फबाट सडक, शिक्षा, स्वास्थ्य, कृषि लगायतको क्षेत्रमा धेरै काम गरेको दाबी पनि गर्नु भएको छ ।
जनताका अपेक्षा अनुसार विकास निर्माणमा काम गरेको र संविधानको रक्षा र स्थीरताका लागि गठवन्धन निर्माण गरेर अघि बढेकाले आफ्नो जीत सुनिश्चित रहेको बताउनु भयो । २०६४ सालको संविधानसभा निर्वाचनमा विजयी हुनु भएका जम्कट्टेल २०७४ सालको निर्वाचनमा प्रदेशसभा २ बाट विजयी हुनु भएका थियो ।











