मलेसियामा दुई नेपालीको शव फेला परेको छ । मलेसियाको सेरेम्बनमा शनिबार हत्या भएको अवस्थामा दुई नेपालीको शव फेला परेको हो ।

त्यहाँको प्रहरीले ओकल्यान्ड कमर्सियल सेन्टरमा सुरक्षा गार्डको रुपमा कार्यरत दुई नेपालीलाई हथौडाले हानेर हत्या भएको जनाएको छ।

सेरेम्बन ओसीपीडीका सहायक कमाण्डर नन्द मारोफका अनुसार स्थानीयबाट घटनाको सूचना पाए लगत्तै घटनास्थल पुग्दा तीन जना नेपाली फेला परेको, ती मध्ये दुई जना मृत भेटिएको र अन्य एकजना सकुशल थिए । हत्या आशंकामा ती सकुशल एक नेपालीलाई पक्राउ गरेको छ ।

उनीहरू तीनै जनाले मादक पदार्थ सेवन गरेको र पछि आपसी झगडा हुँदा हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

प्रहरीले आक्रमणमा प्रयोग भएको हतियार पनि फेला पारेको र सँगै रहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीलाई उद्धृत गर्दै त्यहाँका समाचारमा जनाइएको छ ।

Facebook Comments