
श्रीमान विदेशिएको १२ वर्ष भयो । ९ वर्षदेखि त वेपत्तै छन् । दुइ छोरा एक छोरीको लालनपालन र आफ्नो उपचार मुस्किलले पाएको ऋणले चलेको छ । सुन्छु, दोस्रो विवाह गरेर दुवै जना दुवई पुगेका छन् रे ।
रोगले थलिएर ऋणको भारीमा चुर्लुम्म डुवेकी धादिङको नीलकण्ठ नगरपालिका १४ धुवाकोटकी सोनीमायाँ गुरुङ भन्नुहुन्छ,– ‘म त धेरै बाँच्दिन होला, छोराछोरी कसरी बचाउने र ऋण तिर्ने उस्तै चिन्ता छ । आउँछन् कि जस्तो लाग्छ, म त श्रीमानकै पर्खाईमा छु ।’ सुखले पाल्ने सपना देखाएर १२ वर्ष अगाडी श्रीमान सोमबहादुर गुरुङ घर सल्लाहले कतार उडेको सोनीमायाँ गुरुङ बताउनुहुन्छ । तिन वर्षसम्म त कुराकानी भयो । उहाँ भन्नुहुन्छ्,– ‘विदेश गएर घर पनि आयो ।
थोरै थोरै पैसा पनि पठाउथ्यो । जिनोतिनो घर खर्च चलेको थियो । म तिमीहरुकै लागि विदेशिएको हो, दुख गर्न पर्दैन, स्वास्थ्यमा ख्याल गर, मिठो मसिनो खाउ भन्नुहुन्थ्यो । तर पछि एक्कासी श्रीमानको व्यवहार फेरियो । थुप्रै सपना देखाएर विदेशिएको मेरो श्रीमान नफर्केपछि अहिले सपना देख्नेगरी सुत्न पनि सकेको छैन ।’ सोनीमायाँ अहिले छोराछोरीसँगै भाडाको घरमा बस्दै आउनुभएको छ । गाउँमा भएको घर परिवारका सदस्यले नै भत्काउन लगायो ।
श्रीमानले मात्र होइन घर परिवारमा कसैले देखि सहदैनन् । उहाँ भन्नुहुन्छ,– ‘बनाएको घर भत्किएपछि गाउँ बस्न सक्ने अवस्था भएन । अन्यत्रै भाडामा बस्न थालेँ । श्रीमान आज आउला भोलि आउला भनेर कुर्दा कुर्दै वर्षाै वित्यो । तर श्रीमान अझै फर्केर आएन । श्रीमानको पखाई, झिनो आशमै जीन्दगी जान लाग्यो ।’ सोनीमायाँलाई पाठेघरको समस्या छ ।
मोटो रकम खर्चिएर उपचार गर्दा पनि निको नभएको उहाँ बताउनुहुन्छ । मुखमा हाल्ने माड छैन, उपचार कसरी गर्नु ? उहाँ भन्नुहुन्छ,– ‘छिट्टै उपचार नगरे डाक्टरले क्यान्सर हुन्छ भन्नु भएको छ । तर उपचार गर्ने पैसा मसँग छैन । छोराछोरी हुर्काउन पठाउन र उपचार गर्दा झण्डै १५ लाख ऋण भैसकेछ । चिने जानेका आफन्त, माइति, दिदिबहिनी, समुह, सहकारी सबै ठाउँमा पैसा तिर्नुछ । जता हेरेपनि पिर मात्रै छ । यता फर्कियो ऋण छ, उता फर्कियो पिर छ । न श्रीमान आउँछ, न गर्न काम पाउँछ । रोगी छु, काम गर्न पनि सक्दिन ।
रोगले लाने डरले छोराछोरीको पिरले झनै भक्कानियर आउँछ । बाँच्ने ताल आएन मर्न पनि काल आएन, न फर्केर श्रीमान नै आयो’ गहभरि भरिएको आँसु पुछ्दै उहाँले पिडा सुनाउनुभयो । परिवार पाल्न नगरेको काम केहि छैन, नपुगेको ठाउँ पनि छैन । तर घर छाडेर काममा जाँदा विभिन्न लाञ्छना लाउने गरेको उहाँको गुनासो छ । घरमा बसेर काम पाइन्न, काममा जादा गाउँमा पोइला गयो भनेर हल्ला गर्छन् रे । म सँग कुरा नभएपनि घरमा अरुसँग कुरा हुन्छ भन्ने सुनेको छु ।
उहाँ भन्नुहुन्छ,– ‘ज्याला मजदुरी गर्थेँ, पाठेघरमा समस्या आएर काम गर्न सक्दिन । होटल चलाएँ, त्यो व्यवसायले पनि उकासेन । भारत पुगेर पनि काम गरेँ । तर छोराछोरी र आफुलाई एक पेट अघाउन्जेल खान कहिले पुगेन । लगाइराखेको सुन बेचेर भाडा र नुन तेल किनेँ । म अभाव र समस्याको भूमरीमा छु । मानसिक रोगको शिकार बनेँ । मानसिक तनावले उत्तिकै गिराउछ । छोराछोरीको मायाले मात्रै बाँचेको हुँ ।’ आँसु पुछ्दै आफ्नो व्यथा सुनाउनुभयो ।
मलाई जति दुःख कसैलाई छैन जस्तो लाग्छ । ढुक्कले एक छाक खाना खाएको छैन । रोएर दिनरात बिताएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,– ‘माइतबाट चामल ल्याएर कयौं छाक टारेको छु । छोराछोरीले मासु खान माग्दा मस्यौरा भुटेर दिन्छु । आजको छाक टारौं कि, उपचार गरौं कि । छोराछोरीको लालनपालन, उठ्नै नसक्ने गरी थिचिएको ऋणको भारी, ढुङ्गा खाउँ कि माटो खाउँ भएको छ ।’ मैले श्रीमानलाई दोस्रो विवाह ग¥यो भनेर कहिले केहि भनिन ।
एक दिन त मन पग्लेला, फर्केर आउँछ होला भनेर कुरिरहेको उहाँको भनाइ छ । तर उसको माया त पाइन मैले कमाइ पनि पाइन । १४ वर्षको हुदादेखि उसकै सेवा गरेँ । ९ वर्षदेखि घरै फर्केन । उहाँ भन्नुहुन्छ,– ‘एकचोटी आएर यस्तो भयो भनेर सल्लाह गरिदिए मात्रै पनि कति खुषी हुन्थेँ । छोराछोरीको लालनपालन र पठनपाठन मात्रै गरिदिए पनि बाँच्ने आधार बन्थ्यो ।
श्रीमान खोज्न नपुगेको कुनै ठाउँ छैन । नगुहारेको मान्छे छैन । प्रहरी चौकी, महिला सेल, अदालत, सामी परियोजना पनि धाएँ । तर कतैबाट श्रीमानको पत्तै लागेन ।’ रोगले दिनप्रतिदिन थलिदै छु । उहाँ भन्नुहुन्छ,– ‘चाहेर पनि धेरै बाँच्दिन होला । १२ वर्षमा खोला त फर्किन्छ रे, छोराछोरीको लागि भएपनि मेरो श्रीमान पनि आउँछ कि । हरेक दिन छोराछोरी बुबा खै र कहिले आउँनुहुन्छ भनेर सोधिरहन्छन् । न साथमा श्रीमान, न छोराछोरीलाई दिने उत्तर छ । छोराछोरीको उत्तर बनेर आउँनुस् । विछोडिन परेपनि सल्लाह गरेरै छुट्ठिउँ ।’