नेकपा एमाले जिल्ला कमिटी धादिङले आज फागुन १० गतेदेखि दुई महिने मिसन ग्रासरुट अभियान सुरु गरेको छ । एमाले पार्टी कार्यालय धादिङ बेशिमा आज बुधबार आयोजित कार्यक्रममा यस अभियानको थालनी गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटी धादिङका अध्यक्ष भुमी त्रिपाठिको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटीका उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै नेकपा एमाले केन्द्रिय कमिटीका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेका कार्यकर्ता माझ नेकपा एमालेको दशौं महाधिवेशनको कार्यदिशा, समाजवादको आगामी यात्रा, संगठन सुदृढीकरण, पार्टी निर्माण सम्बन्धि दृस्टिकोण, विभिन्न राजनीतिक दलसंगको सम्बन्ध र चरित्रका बारेमा स्पष्ट पार्ने उद्देश्यले दुई महिने ग्रासरुट अभियान सुरु गरिएको बताउनु भयो ।

कार्यक्रममा बोल्नुहुँदै केन्द्रिय उपाध्यक्ष पाण्डेले ग्रासरुट अभियानले नेकपा एमालेका कार्यकर्ताहरुमा बैचारिक प्रस्टता ल्याउने, संगठनको आन्तरिक समस्याहरु पहिचान गरि सुदृढ बनाउने, भूगोल अनुसारको राजनीतिक सामाजिक समस्याहरु पहिचान हुने बताउनुभयो । देशमा रहेको कुल मतदाताको पचास प्रतिशत मत नेकपा एमालेको पक्षमा ल्याउने मुख्य लक्ष्य लिएर यो अभियान थालनी गरिएको बताउनु भयो ।

समसामयिक राजनीतिक बिषयमा बोल्नुहुँदै नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डेले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको नतिजा पार्टीको पक्षमा आउने र त्यसका लागि पार्टीले बुद्धिमतापुर्ण ढंगले आन्तरिक तथा बाह्यय राजनीति बुझेर निर्णय गर्ने बताउनुभयो । राष्ट्रपति निर्वाचन पेचिलो बन्दै गएको तर पार्टीले देश, जनता र आन्दोलनको हितमा हुने गरि निर्णय गर्ने बताउनुभयो ।

कार्यक्रममा दुई महिने ग्रासरुट अभियानको बारेमा जानकारी दिनुहुँदैन नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष भुमि त्रिपाठिले पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत देशभर फागुन ५ गतेदेखि मिसन ग्रासरुट अभियान सुरु भैसकेको र धादिङमा चै फागुन १० गतेदेखि सुरु भएर आगामी २०८० बैशाख ९ गते पार्टी स्थापना दिवसको दिन समापन हुने बताउनुभयो ।

धादिङ जिल्लाको १३ वटै पालिका र १ सय ४ वटै वडामा बैशाख ८ गतेसम्म अभियान चल्ने र बैशाख ९ गते जिल्ला स्तरीय कार्यक्रम गरि समापन हुने जानकारी दिनुभयो । कार्यक्रममा मिसन ग्रासरुट अभियान अन्तर्गत धादिङका लागि नेकपा एमाले केन्द्रिय सदस्यहरुलाई जिम्मेवारी प्रदान गरिएको छ ।

जस अन्तर्गत कैलाश ढुंगेल निलकन्ठ नगरपालिका र नेत्रावती डबजोङ गाउाँपालिका, रुपनारायण श्रेष्ठ रुभिभ्याली, खनियाबास र गंगाजमुना गाउँपालिका, बाबुराम थापा धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिका, बिन्दा ढुंङ्गाना बेनिघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिका, रामेश्वर राना ज्वालामुखी र त्रिपुरासुन्दरी, केशव स्थापित गजुरी र गल्छीको जिम्मेवारी प्रदान गरिएको छ । साथै नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्यहरु ,जिल्ला कमिटीका सदस्यहरु र पालिका कमिटीका सदस्यहरुलाई पनि वडा स्तरको जिम्मेवारी प्रदान गरिएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष भुमी त्रिपाठिले जानकारी गराउनुभयो ।

Facebook Comments