१५ फागुन, धादिङ ।
नेकपा एमालेले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको हो ।
प्रचण्ड नेतृत्वको सरकार गठनका क्रममा गत पुस १० मा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन धरापमा परेको थियो । यस अघि फागुन १३ गते बसेको एमालेको सचिवालय बैठकले आफूहरु १० पुसको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको निर्णयको आधारमा जेनेभा जान लाग्नु भएका परराष्ट्रमन्त्रीलाई अन्तिम समयमा विनाकारण नजान निर्देशन गरेको र सरकार छाड्न सम्मको अभिव्यक्ति दिएका कारण सरकार छाड्ने र आफ्नो पार्टीको तर्फबाट दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगेको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो ।
