चैत्र ५,२०७९
धादिङ – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को १४ वर्ष पछि नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भईरहेको छ । त्रिभुवन विश्वविद्यालयका ६० आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको हो । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ सालदेखि नियमित हुनसकेको थिएन । देशैभरीका क्याम्पसहरुमा बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने गरी त्रिभुवन विश्वविद्यालयले निर्वाचन कार्यतालितका सार्वजनिक गरेको थियो ।
यस पटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन् । जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध नयाँ समिति निर्वाचित भइसकेको छ । साथै केहि क्याम्पसहरुको निर्वाचन भने विविध कारणले अर्को मितिमा गर्ने गरि निर्णहरु गरेका छन् ।