धादिङका लघुबित्त संघ संस्थाहरुले धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल लघुबित्त बैकर्स संघको आह्वानमा सो ज्ञापनपत्र बुझाएका हुन् । लघुबित्तमा देखिएको हालको कमजोर शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अराजक गतिविधि रोक्न आज सोमबार देशैभरका लघुवित्त वित्तीय संस्थाहरुले जिल्ला प्रशाासन मार्फत ज्ञापन पत्र बुझाएका हुन् ।

लघुवित्त वित्तीय संस्थाहरु विरुद्ध विगत केही समयदेखि केही व्यक्ति तथा राजनीतिक समूहले “लघुवित्तीय विरुद्धको संघर्ष समिति”नामको अवैधानीक समूह खडा गरी सुनियोजित तवरले वित्तीय संस्था जस्तो अति संवेदनशिल क्षेत्रमा आन्दोलन गरेकोमा गरी कार्यक्रममा अवरोध गरेको भन्दै लघुवित्तहरुले सुरक्षाको माग गरेका हुन् ।

देशको संवैधानिक कानून भित्र रही सञ्चालन गरिएका व्यवसायमा प्रत्यक्ष आँच पु¥याउने, लाखौं जनताको बैंकिङ्ग प्रतिको भरोसालाई प्रत्यक्ष प्रभावपारी समग्र देशको अर्थतन्त्रमा नकरात्मक प्रभावपार्ने जस्ता गैर कानूनी गतिविधिहरु भैरहेकाले उक्त स्वार्थ समूहको आन्दोलनका नाममा भएका अवाञ्छित गतिविधि तत्काल बन्द गरी शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाउनका लागि लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले अनुरोध गरेको छ ।

यस्ता गतिविधिहरु निरन्तर चली रहने, राज्यको संयन्त्रबाट असहयोग हुने, र हालको सुरक्षा अवस्थामा सुधार नभएमा लघु वित्तवित्तीय संस्थाहरुले अझ कडा कदम चाल्ने र यसका सम्पूर्ण सेवाहरु बन्द गर्नुपर्ने जस्ता अप्रिय निर्णय लिन बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । हाल नेपालमा ६३ वटा लघुवित्त संस्थाहरुले ५ हजार १ सय ६४ शाखा मार्फत सेवा दिईरहेका छन् ।

 

 

Facebook Comments