
धादिङको गल्छी गाउँपालिकामा राजनितिक किचलोको कारण गत मंसिर १७ गतेदेखि प्रशासनिक कक्षमा लागेको ताला अझै खुल्न सकेको छैन । पटक पटक भएको वार्ता निष्कर्षमा नपुग्दा ९ दिनदेखि लागेको ताला अझै खुल्न नसकेको हो ।
मंसिर ६ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणी न्यौपाने हुँदाहुदै अर्को प्रमुख प्रशासकीय अधिकृत नरवहादुर विक हाँजिर हुन आएको भन्दै गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारीको नेतृत्वमा ताला बन्दी गरिएको हो ।
गाउँपालिका अध्यक्ष समक्ष असन्तुष्ट पक्षहरुले छोटो समयमै के कारणले नयाँ प्रशासकीय प्रमुख गाउँपालिकामा ल्याईयो भन्ने प्रश्नको जवाफ माग गर्दै ताला लगाईएको गाउँपालिका उपाध्यक्ष भाईकाजी तिवारीले बताउनुभएको छ । गाउँपालिका उपाध्यक्ष तिवारी, वडा नम्बर ४ का वडाअध्यक्ष राजु अधिकारी वडा नम्बर ६ का वडाअध्यक्ष दिपक कार्की र वडा नम्बर ८ का वडाअध्यक्ष विशाल लुङ्गेली मगरले मंसिर १५ गते देखि गाउँपालिकाको महेशदोभान स्थित प्रशासनिक भवनमा लगाएको ताला मंसिर १८ गते खुलेपनि प्रमुख प्रशासकीय अधिकृतको कक्षमा अझैपनि तालावन्दी कायमै रहेको छ ।
असन्तुष्ट पक्ष र पालिका अध्यक्ष विच हिजो बैठक बसेपनि कुनै निष्कर्ष ननिस्केपछि आज पुन: बैठक बसेको थियो तर आज बसेको बैठक पनि निष्कर्ष विहिन भएपछि बैठक भोलीको लागि तोकिएको गाउँपालिकाका कर्मचारी बिपिन मल्लले जानकारी दिनुभयो । प्रशासनिक कक्षमा ताला लागे पनि पालिकाले प्रदान गर्ने अन्य सेवाहरु नरोकिएको मल्लले बताउनुभयो ।