विद्यार्थी। यो शब्द सुन्नेबित्तिकै हाम्रा आँखामा चम्किला सपना बोकेका युवा–युवतीहरूको तस्बिर आउँछ। उनीहरूलाई हामी भविष्यका कर्णधार, देशका आधारस्तम्भ भनेर चिनाउँछौं। तर, के हामीले कहिल्यै गहिरिएर सोच्यौं कि उनीहरूको वास्तविक जीवन कस्तो छ? सहरको कोलाहलमा, समाजको दबाबमा, र भविष्यप्रतिको अनिश्चिततामा, ती विद्यार्थीको मनभित्र के चलिरहेको हुन्छ?

विद्यार्थीहरूको जीवनको कथा सामान्य देखिए पनि निकै गहिरो छ। उनीहरूको मनमा विगतका हार–जितका किस्साले ठाउँ लिन्छन्। ती विगतका अनुभवले बारम्बार झक्झक्याइरहन्छन्। यससँगै भविष्यप्रतिको डर र अनिश्चितता उनकै मनको एउटा कुना कब्जा गर्छ। विगतका असफलता र भविष्यप्रतिको डरले गर्दा उनीहरूले वर्तमानलाई पूर्ण रूपमा बाँच्न सक्दैनन्।

विद्यार्थीहरूले आफ्ना रहर, सपना र इच्छाहरुलाई दागबत्ती दिन बाध्य हुन्छन्। किनभने उनीहरूको हरेक निर्णयमा समाज र परिवारको अपेक्षाको भार हुन्छ। “अरूले के भन्ला?” भन्ने प्रश्नले उनीहरूको सोचलाई बाँधेर राख्छ। समाज र परिवारको लागि आफूलाई योग्य सावित गर्न विद्यार्थीहरूले आफ्ना व्यक्तिगत चाहनालाई सधैंभन्दा पछाडि राख्नुपर्छ ।
आजको समाजमा विद्यार्थीहरूलाई दुईवटा खालका वर्गमा राखिन्छ। पहिलो, ती विद्यार्थी जसले “ए प्लस” ल्याउँछन्। दोस्रो, ती जसले ल्याउन सक्दैनन्। यस्तै, विदेश जाने विद्यार्थीलाई समाजले आशाका आँखाले हेर्छ, तर नेपालमै केही गर्ने सोच राख्ने विद्यार्थीप्रति त्यति विश्वास गरिँदैन। समाजले विद्यार्थीको मिहिनेतभन्दा उनीहरूको प्रतिफललाई मात्र महत्त्व दिन्छ। तर, कोही विद्यार्थीको सफलताको चमकभित्र कति रातहरूको जाग्राम र आँसु लुकेको छ भन्ने कुरा बुझ्न कसैले प्रयास गर्दैन।
विद्यार्थीहरूको मनोविज्ञान बुझ्नमा परिवार र साथीभाइको भूमिका धेरै महत्त्वपूर्ण छ। तर, दुःखको कुरा, परिवारले विद्यार्थीलाई धेरैजसो समय “नतिजा” का आधारमा मूल्याङ्कन गर्छ। उनीहरूको प्रयास र संघर्षप्रति सम्मान देखाउनुभन्दा असफलताका कारण खोट लगाउन तत्पर हुन्छ। साथीभाइको समूहमा पनि “को कति सफल?” भन्ने आधारमा तुलना गरिन्छ। अँध्यारो कोठाभित्र बसिरहेको त्यो विद्यार्थी, जसले परीक्षा, समाजको अपेक्षा, र आफ्ना व्यक्तिगत समस्यासँग दिनरात लडाइँ गरिरहेको हुन्छ, उसलाई कसैले देख्दैन। मिहिनेत गर्दागर्दा पनि असफलताको सामना गर्दा आउने निराशा र एक्लोपन भोग्नु पर्ने ती विद्यार्थीहरूको कथा सुनिने भने प्रायः हुँदैन।
विद्यार्थीहरूको यथार्थ बुझ्न र उनीहरूको जीवनलाई सहज बनाउन हामीले केही कदम चाल्न जरुरी छ। समाज र परिवारले विद्यार्थीलाई नतिजा होइन, प्रयासका आधारमा सम्मान गर्न सिक्नुपर्छ। असफलता भनेको जीवनको एउटा भाग हो, यो अन्त्य होइन भन्ने सन्देश दिनुपर्छ। साथीभाइले पनि विद्यार्थीलाई प्रतिस्पर्धाको नजरले नभई सहयोगको भावना राखेर साथ दिनुपर्छ।
विद्यार्थीको जीवनलाई सजिलो देख्नेहरूका लागि यो लेख एउटा चेतावनी हो। विद्यार्थीहरूको मनोविज्ञान, संघर्ष र असफलतालाई सम्मान गर्ने समय आएको छ। तिनको हरेक प्रयास महत्त्वपूर्ण छ, चाहे परिणाम जे आए पनि।
विद्यार्थी केवल परीक्षामा आउने अंक मात्र होइनन्। तिनीहरू सपना, संघर्ष र सम्भावनाका पुंज हुन्। यसलाई बुझ्न, स्वीकार्न र सहयात्रा गर्न सक्ने हो भनेमात्र हाम्रो समाजले साँचो अर्थमा विद्यार्थीहरूको जीवनलाई सही दिशा दिन सक्छ।✍️ निकेश शर्मा
म्याग्दी, नेपाल

Facebook Comments