माघ १०
इजरायल – प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४८ औं स्मृति दिवसको अवसरमा “दोस्रो संस्करण क्या.लखन थापा मगर स्मृति कप – २०२५, भलिबल तथा मामानेट” प्रतियोगिता हुने भएको छ । “प्रथम शहिदलाइ सम्मान ! खेलाडीहरुलाइ प्रोत्साहन !!!” भन्ने नाराका साथ पुरुष भलिबल तथा महिला मामानेट प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता यहि १५ फेब्रुअरी, २०२५ का दिन लेभेनस्की फुटसल पार्क तेलअविभमा हुनेछ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलको आयोजना र नेफिन इजरायलमा आवद्ध रहेका विभिन्न राष्ट्रिय समुदाय संघ–संस्थाहरुको सह–आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा भाग लिन चाहाने टिम तथा खेलाडिहरुले यहि ३० जनवरी, २०२५ सम्ममा आफ्नो टिम दर्ता गरिसक्नुपर्ने प्रतियोगिताका संयोजक बिवस आले मगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुन पुरुष भलिबल टिम दर्ताको लागि ९ सय सेकेल र महिला मामानेटको लागि ६ सय सेकेल शुल्क निर्धारण गरिएको छ । क्या.लखन थापा मगर स्मृति कप – २०२५ भलिबल तथा मामानेट प्रतियोगितामा सहभागि भई विजेता हुने टिमलाइ ट्रफी, मेडल,प्रमाण पत्रको साथै नगद सहित पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ इजरायल शाखामा नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, तमू समाज, राष्ट्रिय नेवाःखल, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा, शेर्पा संघ, होल्मो समाज लगाएतका संघ–संस्थाहरु आवद्ध रहेका छन् । सन २०१२ मा स्थापना भएको नेफिन इजरायलले समय–समयमा यस्ता रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

Facebook Comments