आज कक्षा ११ द्वारा कक्षा १२ लाई विदाई गर्ने कार्यक्रम । आज मलाई लाग्यो म अन्तिम पटक विद्यार्थीको रूपमा म मेरो विद्यालयमा छु यद्यपि औपचारिक रूपमा पढाइ बन्द भएपनि ट्युसन तथा अन्य क्लास हरू त सञ्चालन भई नै रहन्छन्।। सबै सहपाठी हरुलाई हेरे सबै खुसी नै थिए तर मेरो भित्री मन बाट नै एउटा खटपट खटपट भइरहेको थियो यो २ वर्ष मैले सोचेको भन्दा निकै फरक थियो।
कक्षा ११ को पहिलो दिन सम्झिए जब स्कुलको गेट पार गर्दा म भित्र पसेर आफैलाई प्रश्न गरेको थिए के तँ यहाँ कसैसँग घुलमिल हुन सक्छस्?के यो स्कुल वास्तवमै तेरो लागि हो?के १० कक्षा जस्तै साथीहरू फेरि पाइन्छन्? तर ती सबै शंका समयसँगै पग्लिएर गए मैले यहाँ यस्ता साथीहरू पाएँ जो कक्षा १० को भन्दा पनि गहिरो छ । मैले शिक्षकहरू पाएँ जसले कक्षाकोठा भित्र मात्र होइन, जीवनमा समेत काम लाग्ने सल्लाह दिने गुरुहरू। पहिलो पटक म यो विद्यालय आउँदा अनजान अनि अलिक गुमसुम थिएँ ।तर आज जब फर्किएर हेर्छु यही स्कुलले मलाई व्यक्तित्व दियो, सोच्ने तरिका दियो,र केही सम्बन्ध दियो जसले भविष्यमा पनि मलाई सम्झाइरहनेछ कि “तँ यहाँ एक्लो छैनस्। मैले त्यो बेन्च हेरे, त्यो बोर्ड हेरे, सर हरुलाई हेरे र त्यो गेटलाई हेरे जुन मेरो पहिलो दिनको भन्दा निकै फरक थियो।
सबै कुरा सामान्य थियो कार्यक्रम, फूल, फोटो, मुस्कानहरू। तर त्यो सामान्यताभित्र एक असामान्य शून्यता मिसिएको थियो जसलाई न देख्न सकिन्थ्यो, न बिर्सिन। यो दुई वर्ष अनेक असफल प्रयासहरू, अप्रत्याशित जितहरू, अनि केही अधुरा सपना यी सबैलाई लिएर आज म बाहिर निस्किँदै थिएँ शरीर अगाडि बढ्दै थियो, तर मन कतै पछाडि बाँधिएको महसुस भइरहेको थियो। हरेक पाइला भारी लाग्दै थियो, जस्तो कि त्यो स्कुलको माटोमै मेरो केही अंश मिसिएको छ। बिदाइको नाममा आज म आफैसँग फेरि भेटिएँ। यदि कसैले मलाई सोध्यो “विद्यालय कस्तो थियो?” भनेर भने त्यतिबेला म मुस्कुराउँदै भन्ने छु “त्यो ठाउँ जहाँ म आफूलाई भेटें, अनि गुमाएँ पनि।”
✍️ निकेश शर्मा
Facebook Comments