झोला नि भिरे, ढोकाको साँचो कता परो कुन्नि सारा कुनाकाप्चा खोज्दा नि कुनै अत्तोपत्तो लागेन  ।  बरु मेरो जुत्ताले कोठाभरी ६ नम्बरका छाप यत्रतत्र बनाए  ।  आफ्नै खुट्टाको छापले कोठामा गरेको यो ज्यादती भन्छु  ।  कोठा सफा गर्ने झन्झटबाट म राम्रोसँग चिनजान छु  ।  त्यहीमाथि नि डेरा बसाइको पीडा  ।  हप्तामा एक पटक पानी धारामा आउँदा बल्ल महसुस हँुदैछ, मैले त हरेक पटक भात अड्किँदा पञ्चामृतझैँ कति मीठो मानेर कति पटक सुरूपप मात्र पारेको छु ।

कोठामा ठुटे कुच्चोले बढार्दाको पीर त त्यो कुच्चोलाई के थाहा होला र जति मलाई थाहा छ । कुच्चो कति समालेर पकडनुपर्छ, नत्र कुच्चोको दिन प्रतिदिन दुब्लाउँदै जाने क्रम जारी रहन्छ  । आफूलाई  ढोकाको चाबी खोज्ने पीर छ तर म भने यो ठुटे कुच्चोको किन यति बिग्न पीर, पीर पनि  किन न होस् एक महिना नि भएको छैन कुच्चोले आफ्नो मोल ७० बाट बढाएर १०० बनाएको । अन्तत किताबका थुप्राबाट ढोकाको साँचो फेला पारे अनि एसएलसीदेखि मास्टरसम्मका सटिर्फिकेटले भरिएका झोला लिएर म टेम्पो चढेँ । टेम्पो चढुन्जेल मैले आफूलाई विद्यार्थी हुँ भनेर बिर्से या सम्झे पनि कुनै फरक पर्दैन थियो ।

मेरो गोजीका २० रुपियाँका नोटसमेतलाई राम्रोसँग थाहा थियो, त्यहाँ विद्यार्थी परिचयपत्र निरिह बनेर गोजीको एक कुनामा थन्केको छ  । झोला बोकेर जागिरमा आवेदन दिँदै हिँड्नु मेरा लागि धेरथोर दैनिकी जस्तो भइसकेको थियो । मास्टर डिग्री सकेको केही वर्षसम्म यसरी कहिलेसम्म हिँड्ने हो भन्ने कुराले मलाई कोही कोही बेला साह्रै ऐठनमा पाथ्र्यो, त्यति बेला मजस्तै हजारौँ साथी भेट्थे मन नै शीतल हुन्थ्यो तिनीहरूलाई देखेर । त्यो बेरोजगारको आँगोको रापले भत्तभत्ती पोल्ने म मात्र त होइन रहेछु नि । कहिलेकाहीँ आफ्नो जस्तो पीडा अरूले भोग्दा पनि आन्नद आउँदो रहेछ, मनको कुनामा मन बुझाउने केही जीवन्त कारणहरू सहज रूपमा भेट्टाउँथे । अनि भोलिको मीठो सपना देखेर मन्द मुस्कानका साथ खाटमा पल्टिएर लोकसेवा अनि अन्य परीक्षका किताब पल्टाउँदै निदाउँथे ।

Facebook Comments