धादिङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विजयराज सुवेदी सहित जिल्लाका सुरक्षा निकायका पदाधिकारी तथा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम र खानेपानी कार्यालयका प्रमुखहरूको संयुक्त टोलीले रुवी भ्याली गाउँपालिकाको भ्रमण गरेको छ।

गाउँपालिकाको विकास, सेवा प्रवाह, पूर्वाधार विस्तार र सुरक्षासम्बन्धी अवस्थाको स्थलगत अध्ययन तथा शान्ती सुरक्षा लक्षित चेतनामुलक कार्यक्रम र नागरिक सार्वजनिक सुनुवाईका क्रममा संयुक्त टोली रुविभ्यालीको भ्रमणमा पुगेको योगेन तामाङले बताउनुभयो । स्थानीय सरोकारवाला निकायसँगको समन्वय गरिएको उक्त भ्रमणमा टोलीले गाउँपालिकाका विभिन्न वडाहरूमा अवलोकन गरेको थियो।

भ्रमणका क्रममा प्रमुख जिल्ला अधिकारी सुवेदीले गाउँपालिकाको भौगोलिक कठिनाइका बाबजुद पनि स्थानीयस्तरमा विकासका प्रयास सराहनीय रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सुवेदीले संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी, रुवी भ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले भ्रमणप्रति धन्यवाद ज्ञापन गर्दै“रुवी भ्याली भौगोलिक रूपमा चुनौतीपूर्ण भए पनि यहाँका जनताको सामूहिक प्रयास र सरकारी निकायहरूको समन्वयले विकासको गति तीव्र बन्दै गएको बताउनुभयो ।

जिल्ला प्रशासन र सम्बन्धित कार्यालयहरूको स्थलगत उपस्थिति र ध्यानले गाउँपालिकामा सेवा प्रवाह र पूर्वाधार विस्तारमा थप ऊर्जा मिलेको उहाँको भनाई थियो । यस्तै जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले मोवाईल र सामाजिक सञ्जालले बढाएको सामाजिक अपराधका घटनाका विषयमा स्थानियहरुलाई जानकारी गराउनुभएको थियो ।

भ्रमण टोलीमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, सैनिक प्रतिनिधि, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

Facebook Comments