
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानी गुरुङ गाउँ निवासी २३ वर्षीय शरण गुरुङ हाल दुर्लभ र गम्भीर प्रकृतिको रोग अप्लास्टिक एनिमिया सँग जुधिरहनुभएको छ। जीवन र मृत्युसँग संघर्षरत गुरुङको उपचारका लागि ठूलो आर्थिक अभाव भएपछि परिवारले सहयोगका लागि सर्वसाधारणसँग अपिल गरेको छ।
परिवारका अनुसार लामो समयदेखि स्वास्थ्य समस्या देखिएपछि शरणलाई काठमाडौंस्थित विभिन्न अस्पतालहरूमा लगेर उपचार गराइएको थियो। बि एण्ड बि अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल लगायतका अस्पतालहरूमा उपचार गराउँदा पनि रोग नियन्त्रणमा आउन नसकेको र विशेषज्ञ चिकित्सकहरूले थप प्रभावकारी उपचारका लागि भारत लगेर उपचार गर्नुपर्ने सुझाव दिएका छन्।

चिकित्सकहरूको भनाइ अनुसार उक्त रोगको उपचार खर्च अत्यन्त महँगो हुने र करिब २० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । शरणका बुवा बुद्धीबहादुर गुरुङले नेपालमै उपचार गराउने प्रयास गर्दा परिवारको आर्थिक अवस्था निकै कमजोर भइसकेको बताउनुभयो। “हामीले भएको सबै पैसा नेपालकै अस्पतालमा उपचार गराउँदा सकिसक्यौं, अहिले भारत लैजानुपर्ने भनिएको छ तर हातमा एक पैसा छैन,” उहाँले भावुक हुँदै भन्नुभयो “सास रहन्जुले आश रहन्छ भन्छन् तपाईहरुले सहयोग गरिदिनुभए मेरो छोराको जीवन बच्थ्यो” । उहाँका अनुसरा छोराको उपचारका लागि नीलकण्ठ नगरपालिका तथा वडा कार्यालयबाट सहयोगका लागि सिफारिस पत्र समेत बनाइएको भए पनि हालसम्म पर्याप्त सहयोग प्राप्त हुन सकेको छैन।


परिवारले उपचार निरन्तरता दिन नसक्ने अवस्थामा पुगेपछि बाध्य भएर देश–विदेशमा रहेका सहयोगी मनकारी व्यक्तिहरूसँग आर्थिक सहयोगको अपिल गरिएको उहाँले बताउनुभयो । अप्लास्टिक एनिमिया जस्तो दुर्लभ रोगका कारण बिरामीको शरीरमा रगत बन्ने प्रक्रिया कमजोर हुने भएकाले समयमै उपचार नभए जीवन नै जोखिममा पर्ने चिकित्सकहरू बताउँछन्। त्यसैले शरण गुरुङको जीवनरक्षाका लागि समयमै उपचार अत्यन्त आवश्यक रहेको परिवारको भनाइ छ ।
शरण गुरुङको उपचारका लागि सहयोग गर्न इच्छुक सहयोगी दाताहरूलाई परिवारले मानवीय सहयोगका लागि आग्रह गरेको छ। समयमै उपचारका लागि आवश्यक आर्थिक सहयोग जुट्न सकेमा शरणको जीवन बचाउन सकिने आशा परिवारले व्यक्त गरेको छ ।
शरण गुरुङलाई उपचारमा सहयोग गर्न ईच्छुक व्यक्ती तथा संस्थाहरुले माछापुच्छ्रे बैंक ग्वार्काे शाखामा रहेको ०१२००९५६५८७०००११ खाता नम्बर वा क्यूआर स्क्यान गरेर सहयोग गर्न सक्नुहुनेछ । थप जानकारीको लागि बुवा बुद्धिबहादुर गुरुङ ९८४१६३२९०३ मा सम्पर्क गर्न सकिनेछ ।