अर्जुन श्रेष्ठ धादिङ,
कार्तिक २४ गते ।
धादिङको जिल्ला अस्पतालमा शवको पोष्टमार्टम हुन नसक्दा आफन्तहरु मारमा परेका छन् । नीलकण्ठ ५ धादिङका ३७ वर्षिय कोपिला श्रेष्ठको शब पोष्टमार्टम हुन नसक्दा उनका आफन्तहरु समस्यामा परेका हुन् ।
शुक्रबार विहान ९ः३० बजे खेतबारीमा बालीलाई हाल्ने बुलेट ५०५ नाम गरेको विषादी कोपिला श्रेष्ठले खाएका थिए । शौचालय आउने, जाने, उल्टि गर्ने गर्न थालेपछि छोरीले आफुलाई खवर गरेको श्रीमान शंकर श्रेष्ठले बताउनुभयो । साबुनपानी खुवाएर उपचारका लागि क्याउरीनीसम्म ट्रकमा त्यसपछि एम्बुलेन्समा काठमाडौ लैजादै गरेको क्रममा दिनको ३ बजे धार्केमा कोपिलाको ज्यान गएको श्रेष्ठले बताउनुभयो । 
जिल्ला अस्पताल धादिङमा रहेको मुर्दाघर 
पोष्टमार्टमका लागि इलाका प्रहरी कार्यालय खानीखालाको सिफारिसपछि धार्केबाट जिल्ला अस्पताल धादिङबेशी ल्याएको श्रीमान श्रेष्ठले बताउनुभयो । तर पोष्टमार्टम गर्ने समयमा सोधपुछका क्रममा एच आइ भि थियो भनेपछि जिल्ला अस्पतालमा पोष्टमार्टम गर्न नसकिने बताएको उहाँको भनाइ छ । कोपिलाको शव शुक्रबार देखि मुर्दाघरमा राखिएपनि पोष्टमार्टम भने हुन सकेको छैन ।
जिल्ला अस्पताल धादिङमा ड्यूटिमा खटिएका डाक्टर पुकार पन्त भने पोष्टमार्टम गर्न नसकिने बताउछन् । कारण सोध्दा– धेरैलाई कारण बताइसके अव पत्रकार होस् या जो कोहि मलाई कारण नसोध्नुस् उहाँले आक्रोसित भावले बताउनुभयो । तर जिल्ला अस्पताल धादिङका निमित्त सुपरिटेन्डेन्ट भने एक पटक इन्सुमेन्ट प्रयोग गरेपछि फेरी प्रयोग गर्न नमिल्ने र श्रोत तथा साधनको अभावका कारण एचआइभी संक्रमित कोपिलाको शव पोष्टमार्टम गर्न नसकिएको बताउनुहुन्छ । सरुवा रोग भएको कारण होसियारी अपनाउनु पर्ने पोष्टमार्टम गर्नेलाई पनि उत्तिकै जोखिम भएका कारण काठमाडौ सिफारिस गरेको उहाँले बताउनुभयो ।
एचआइभी संक्रमित भएपनि विवाह
नीलकण्ठ ५ धादिङका शंकर श्रेष्ठ श्रीमतीको शवको पोष्मार्टम गर्न शुक्रबारदेखि जिल्ला अस्पताल धादिङमा हुनुहुन्छ । तर डाक्टरले पोष्टमार्टम गर्न काठमाडौं लैजानु पर्ने बताएपछि एम्बुलेन्सको पर्खाइमा बस्नुभएको हो । कारण थियो, विषादी खाएर ज्यान गुमाएकी श्रीमती कोपिला एचआइभी संक्रमित हुनुहुन्थ्यो । पोष्टमार्टम गर्ने सबै तयारी भएपनि सोधपुछका क्रममा सबै जानकारी पश्चात एचआइभी भएको कारण पोष्टमार्टम हुन सकेन । जोखिम र श्रोत तथा साधनको अभावका कारण पोष्टमार्टम जिल्ला अस्पतालमा गर्न नसकिएको डाक्टरले बताएको उहाँको भनाई छ ।
२०६६ सालमा दोस्रो श्रीमतीको रुपमा कोपिलासँग बैवाहिक जीवनमा बाधिएका थिए । पहिलो श्रीमती भारतबाट नेपाल नआउने भनि सम्पर्क विहिन बनेपछि श्रेष्ठले कोपिलासँग विवाह गरेको बताउनुभयो् । मृत श्रीमतीको पनि पहिलेको श्रीमान वितिसकेको उहाँको भनाइ छ । श्रीमतीलाई एचआइभी लागेको भन्ने थाहा थियो । तर सन्तुष्टि नै मानिसको सबै भन्दा ठूलो खुषी भएका कारण श्रीमतीसँगको चोखो माया नै विवाहको आधार भएको उहाँले बताउनुभयो । २०६२ सालदेखि एचआइभी लागेको थाहा थियो । पहिलो श्रीमती पटीका ३ छोरी छन् । म ६–६ महिनामा चेकजाँच गराउछु । रोग नसर्ने सबै किसिमका उपायहरु अपनाएको छु । परिवार खुषी नै थियो । भाइटिकाको अघिल्लो दिन पनि सँगै म पुजा गरेका हौं । टिकाको दिन म भाइको घरमा टिका लगाउने तयारी गर्न गएको बेला विष खाएछ । खै किन त्यस्तो ग¥यो, आँसु पुछ्दै उहाँले बताउनुभयो ।
जे भयो भाग्यको खेल थियो । आफ्नै आँखा अगाडी छट्पटिएकी श्रीमती त बचाउन सकिन सकिन । तर दाहसंस्कार गर्न पनि बेलैमा पाइन । जिल्ला अस्पताल प्रशासनले एम्बुलेन्सको निशुल्क व्यवस्था गरिदिने भनेको छ । आइतवार विहानसम्म पोष्टमार्टमका लागि काठमाडौं लैजान सकिन्छ कि भन्ने लागेको छ । कुरिरहेका छौं, चाडै भैदिए थोरै भएपनि सजिलो हुन्थ्यो कि उहाँले बताउनुभयो ।
