अर्जुन श्रेष्ठ
पौष १,  धादिङ ।

जस्ताको छानो जस्ताकै बार । सानो घर, हातमुख जोर्ने निगालोको भर । घरको आँगन, करेसा, कोठा थोरै ठाउँ छ त निगालोले भरिएका छन् । डोको, थुन्चे बुन्न नजान्ने सायद कोहि भेटिदैनन् । १० वर्षको होस् या ८० वर्षका । भुकम्पले थातथलो पहिरिने, भासिने, चिराफारा हुने भएपछि सदरमुकाम आसपास आइपुगेका प्रभावितको बस्ति हो यो दामगाडे शिविर ।
एउटा हात एउटा खुट्टा राम्रोसँग चल्दैन । डाक्टरले पक्षघात (प्यारालाइसिस) भएको भनेको ६ वर्ष भैसक्यो । तर निगालोबाट डोका डाला, थुन्चे जस्ता सामाग्री बुनेरै जीन्दगी चलाउदै हुनुहुन्छ्, गंगाजमुना गाउँपालिका १ धादिङका मनबहादुर तामाङ । तामाङ भन्नुहुन्छ– अरु काम गर्ने सिप छैन, स्वास्थ्यले पनि साथ दिएन । कति औषधि खाएँ, अव त शरिरमा औषधि मात्रै छ होला जस्तो लाग्छ । सामान्य रुपमा मासिक २ हजार भन्दा बढी रकमको औषधि त अहिले पनि खान्छु उहाँले बताउनुभयो । उमेरले डाँडो काट्यो, आफ्नो ज्यानको मायाँ कसलाई हुदैन र । औषधिकै भरमा बाँचेको छु । खान, लाउन अनि औषधि उपचार थुन्चे बुनेरै पु¥याएको छु, मुस्कुराउदै आफ्नो वास्तविक जीवन कथा बताउनुभयो ।
नीलकण्ठ नगरपालिका १२ मा पर्ने दामगाडेमा बस्ति छ । तर वरिपरि निगालो पाइन्न । अन्य पालिका तथा उत्तरी धादिङबाट ल्याउदा ढुवानीको समस्या तथा खर्चिलो हुने गंगा जमुना गाउँपालिका १ धादिङका मंगल तामाङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– स्वदेशमै परदेशी बनेका छौं । निगालोको चोया बनाएर डोकाडाला, थुन्चे बुनेर जिविको चलाउन हामी बाध्य भएका छौ । आफ्नै गाउँ फर्किएर पहिलेकै जस्तो गरी रमाउने रहर नभएको कहाँ होर । तामाङ थप्नुहुन्छ– धन्न यति बुन्न जानेका छौं । नभए बाँच्ने आधार नै रहने थिएन । मासिक करिव ५० वटा थुन्चे बुन्छौं । निगालो किन्दा, ढुवाडीमा केहि खर्च हुन्छ बचेको रकमबाट घर खर्च चलाएका छौ उहाँले बताउनुभयो ।
त्यस्तै, रि का बियाल तामाङ निगालोको अभावका कारण भने जति आम्दानी गर्न नसकिएको बताउनुहुन्छ । निगालो लिन जान र आउन ३÷४ दिन लाग्छ । तामाङ भन्नुहुन्छ– ढुवाडी महंगो, समय उस्तै बर्बाद, त्यहि माथि भनेको ठाउँ र समयमा निगालो पाइन्न । बुन्न त एक दिनमा ३÷४ वटा सम्म बुन्न सकिन्छ । तर निगालो व्यवस्थापन र चोया काट्न समय बढी लाग्ने उनको भनाइ छ । उत्पादित थुन्चे किन्न बस्तिमै आउने गरेको र गुणस्तर हेरेर ३ सय, ३ सय ५० मा विक्रि गर्ने गरेको उनले बताए । निगालोमा भविष्य देखेर होइन । एक पेट खान, एक सर्काे लाउन अनि बालबच्चा पढाउन थुन्चे बुन्छौं । हामीले बुनेका थुन्चेसँगै हाम्रा खुषी र बालबच्चाको भविष्य जोडिदै गएको छ उहाँले बताउनुभयो ।
भुकम्पले थातथलो पहिरिने, भासिने, चिराफारा हुने जस्ता समस्या भएपछि उत्तरी धादिङका करिव १२ सय ५० परिवार विस्थापित भएर जिल्ला सदरमुकाम आसपास बसेका थिए । कतिपय गाउँ फर्के, कतिपयलाई संघसस्थाको साथ मिल्यो । तर केहि प्रभावित अझै टहरामा समस्या र अभावको भूमरीमा रुमल्लिइरहेका छन् । थोरै जग्गा लिएर ओतलाग्ने छानो हालेकालाई पनि विहान बेलुकाको मानोको चिन्ताले छाडेको छैन । दामगाडे बस्तिमा मात्रै विस्थापित भएर आएका १ सय ४० भन्दा बढी परिवार छन् । निगालो खेती हुन सके थुन्चे बुनेर जीविकोपार्जन गर्नेहरुको जीवनस्तर माथि उठ्ने शिविरका अध्यक्ष बुद्धसिंह तामाङ बताउँछन् । उहाँ थप्नुहुन्छ– स्थानिय तहले योजना बनाउदा र बजेट विनियोजन गर्दा आम नागरिकको यस्ता आवश्यकताको सम्मान गर्न सके गाउँ गाउँमा सिंहदरवारको आभाष हामी जस्ता नागरिकले गर्ने थियौ होला ।
विस्थापित भएर आएका प्रायः उनीहरु बस्तिमा डोकाडालो, थुन्चे बुनेरै जिविको चलाइरहेका छन् । स्वदेशमै परदेशी जीवन विताइरहेका उनीहरुको पिडाको चाङ त छदैछ । तर उनीहरुको काम, सिकाइ, भोगाइ लाखौं बेरोजगार युवाहरुको लागि ठूलो पाठ हो ।

Facebook Comments