गर्मि अत्याधिक बढेको छ । गर्मी सुरु भएसंगै आँखा पाक्ने, आँखामा एलर्जी हुने लगायतका समस्याहरु देखिन थाल्छ । आँखामा रातो हुने, चिलाउने, बिजाउने , आँखाको वरिपरी कचेरा (चेप्रा) लाग्ने समस्या लिएर अस्पताल धाउनेहरुको संख्या अब विस्तारै बढ्न थालेको छ । मौसमको कारणले हुने एलर्जी प्राय ९–१० वर्ष देखी २०–२२ वर्ष सम्मका युवाहरुलाई बढी सताउँछ । धादिङमा पनि यस्ता बिरामीको चाप बढेको छ । यसै सन्दर्भमा  अस्मिता खतिवडाले सामुदायिक आँखा केन्द्र धादिङका इन्चार्ज तथा नेत्र अधिकृत रामसिं तामाङसंग गर्नुभएको कुराकानीको सारसंक्षेप :-

१) अहिले सामुदायिक आँखा केन्द्र धादिङमा बढि मात्रामा के–कस्ता समस्या लिएर विरामीहरु आउने गरेका छन् ?

हिजो आज यो गर्मि बढेपछि या भनौं वर्खा लागेपछि अत्याधिक मात्रामा आँखा पाक्ने तथा आँखाको एलर्जीको समस्या लिएर बिरामीहरु आइरहेका छन् । त्यो बाहेक आँखाका अन्य समस्याहरु जस्तै आँखा दुख्ने, सुक्खा हुने, धेरै समयसम्म आँखा हेर्न गाह्रो हुने समस्या लिएर आँखाका बिरामीहरु आउने गर्छन् । मोतियाविन्दुका समस्याहरु पनि आइरहका हुन्छन् । तर धेरै भनेको चाहिँ अहिले आँखा पाक्ने तथा आँखाको एलर्जीको समस्या आइरहेको छ ।

२) दैनिक सरदर कति बिरामीहरु आँखा पाक्ने तथा आँखाको एलर्जी सम्बन्धी समस्या लिएर आउँछन् ?

धेरै नै हुन्छन् । सरदरमा भन्नुपर्दा दैनिक १२/१५ जना आँखा पाक्ने तथा १२/१५ जना आँखाको एलर्जीको समस्या लिएर आइरहेका हुन्छन् ।

३) आँखा पाक्ने रोग कस्तो रोग हो ?

आँखाको बिभिन्न समस्याहरु मध्ये आँखा पाक्ने रोग सामान्य रोग हो । गर्मी मौसम, विशेषगरी वैशाख जेष्ठमा सुरु भइ श्रावण भदौसम्म आँखा पाक्ने रोगको विगविगी देखिन्छ ।

४) यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ हैन ?

हो, यो सरुवा रोग हो । सरुवा रोगमा पनि अत्यन्त छिटो सर्ने सरुवा रोग भएकोले घरको कुनै सदस्यलाई आँखा पाक्ने रोग भएमा अरु सदस्यहरुले सतर्कता अपनाउनु पर्छ । आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा कन्जङ्टिभाइटिस वा पिङ्क आई भनिन्छ । यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ । यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ ।

५) आँखा पाक्ने समस्या हुँदा के कस्ता लक्षणहरु देखा पर्छन् ?

यसका धेरै लक्षणहरु छन् । जस्तो कि आँखा रातो तथा गुलाबी देखिनु, चिलाउनु र पानी बग्नु, एउटा मात्र वा दुवै आँखा प्रभावित हुनु, हल्का दुख्नु वा आँखा मा धुलो, कसिंगर परेजस्तो महसुस हुनु, आँखाबाट पहेंलो, सेतो वा हरियो रंगको पदार्थ बग्नु, निदाएर उठ्दा च्याप्च्याप् लाग्ने पदार्थले आँखाका परेला एकआपसमा टाँस्सिनु, प्रारम्भिक चरणमा देख्ने शक्तिमा खासै फरक नहुनु आदी आँखा पाक्दा देखापर्ने लक्षणहरु हुन् ।

६) आँखा पाक्ने समस्यालाई कतिपयले सामान्य रुपमा लिइरहनुभएको हुन्छ, यो जोखिम युक्त पनि हुन सक्छ भनिन्छ नि ?

पक्कै पनि हो । आँखा पोकेको त हो निको भैहाल्छ भनेर हामीले कहिल्यै पनि हेलचक्राई गर्नु हुँदैन । यदि तिब्र आँखा दुखाई भएमा, दृष्टिमा कमी भएमा, उज्यालोमा हेर्न कठिनाई भएमा, आँखा रातो हुनु सँगै लिंग वा योनिबाट सेतो पदार्थको स्राव भएमा, चश्मा लगाउने मानिसमा आँखाको समस्या भएमा, नवजात शिशुका आँखा पाकेमा, आँखा पाकेको लक्षण मा सुधार हुँदै नगएमा यसलाई जोखिमयुक्त अवश्था मान्न सकिन्छ ।

७) अब आँखामा हुने एलर्जीका विषयमा पनि जानकारी गराइदिनुहोस् न, किन हुन्छ आँखाको एलर्जी, यसका लक्षणहरु के के हुन सक्छन् ?

आँखा चिलाउनु नै एउटा एलर्जी नै हो । यो के कारणले भएको हो भन्ने पत्ता लगाउन विशेष किसिमले परीक्षणनै गर्नुपर्छ । तर हामीले हेर्दा धुवा–धुलो अनि घामको कारणले पनि आँखा चिलाउँछ । गर्मी र धेरै हावा चल्ने मौसममा नै आँखा चिलाउने समस्या हुन्छ । आँखा चिलाउँदा आँखा रातो हुने, आँखामा आँशु आउने लगायतका समस्या देखा पर्छन् । कोही बिरामीको आँखाको सेतो भागलाई पहेंंलोसमेत भएको हुन्छ ।

८) आँखाको एलर्जी हुनबाट कसरी जोगिने त ?

यसको उपचारको लागि आँखामा एलर्जी नै हो भन्ने भयो भने एलर्जी विरूद्धको औषधि खुवाउँनुपर्छ । यसको औषधि अलि लामो समय पनि खानुपर्ने हुन्छ । चिसो महिना र पानी पर्न थालेपछि भने अलि कम हुन्छ । त्यो बेलामा औषधिलाई कम गर्दै लैजानुपर्छ । एलर्जीबाट जोगिन बाहिर धुलोमा हिड्दा चश्मा लगाउनुपर्छ । आँखाको सुरक्षा गर्नुपर्छ । चिसोले, आइसले आँखा सेक्नुपर्छ । यसले आँखालाई फाइदा गर्छ । त्यो बाहेक आँखामा आँशुको काम गर्ने औषधी पनि हाल्नुपर्छ ।

९) आँखाको एलर्जी हुँदा चिलायो भनेर धेरैको बानी हातले मिच्ने हुन्छ, यसले असर गर्दैन ?

पक्कै पनि असर गर्छ । आँखा चिलाउँदा धेरैको बानी हुन्छ हातले मिच्ने । हातले मिच्दा आँखा चिलाउने मात्र हैन, आँखा रातो समेत हुने गर्छ । अझ हात फोहोर छ भने त त्यसले आँखामा विभिन्न किसिमका संक्रमण निम्त्याउन सक्छ । त्यसैले त चिकित्सकहरू सकेसम्म आँखा नमिच्न, हात नलगाउन तथा नकन्याउन सुझाव दिने गर्छन् । त्यो सुझावलाई हामी मनन पनि गर्छौं । तैपनि कहिलेकाही धुलोधूवाँ, प्रदूषण तथा विभिन्न एलर्जीका कारण आँखा यसरी चिलाउँछ कि हाम्रो हात स्वतः आँखामा पुग्ने गर्छ । परिणामस्वरूप आँखा पोल्ने, आँखा रातो हुने तथा आँखा सुन्निने गर्दछ । आँखामा वरफ वा चिसो पानीले सेक्दा पनि चिलाउने समस्या कम हुने गर्छ । त्यस्तै, नरम कपडालाई पानीमा भिजाएर करिब २० मिनेटसम्म उक्त कपडालाई आँखामा राख्नाले पनि आँखा पोल्ने, चिलाउने, सुन्निने तथा रातो हुने समस्याबाट छुटकारा पाउन सकिन्छ । चिसो दूधको प्रयोग गरेर पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ । कपासलाई चिसो दूधमा केही समय भिजाएर त्यसलाई बेला बेलामा आँखाको वरिपरि राख्नाले पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ ।

१०) यसको खास उपचार के हो त ?

घाम, पानी, धुलो, धूवँ लगायतका कारण पनि आखाको एलर्जी हुनसक्छ । आँखाको एलर्जी भएमा आखा पोल्ने, चिलाउने तथा रातो हुने गर्दछ । घरबाहिर निस्कनु परेमा चश्माको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । आँखा बेसरी चिलाएमा तुरुन्तै चिसो पानीको फोहराले आँखालाई पखालेर पनि यो समस्याबाट राहत पाउन सकिन्छ । त्यसको लागि पानीको फोर्स भने धेरै हुनु हुँदैन । गुलाव जलको प्रयोयद्धारा पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । केही थोपा गुलाव जलको प्रयोगले सुरुमा त आँखामा केही जलन होला तर फेरि आराम पनि तुरुन्तै हुन्छ । चिकित्सकको सल्लाह अनुसार आइड्रपको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । यस्ता आइड्रप जुनसुकै औषधी पसलमा सजिलै किन्न पाइन्छ । किन्नुअघि चिकित्सकको सल्लाह लिन भने निकै आवश्यक मानिन्छ ।

११) बर्खायाममा आँखा पाक्न तथा आँखाको एलर्जी हुनै नदिन चाहिँ के गर्न सकिएला ?

आँखा पकुवा सरुवा रोग भएकाले रोगीले प्रयोग गरेका वस्तुहरु प्रयोग नगर्ने, हात–मुख धुने जस्ता काम गरेर व्यक्तिगत स्वास्थ्यको संरक्षण गर्ने गर्नुपर्छ । त्यसैगरि आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान आदिको प्रयोग नगर्ने, अत्यन्त वृद्ध वा साना शिशुसँग बढी सम्पर्कमा नरहने । किनकि तिनीहरुको रोग प्रतिरोधी क्षमता कम हुने हुँदा तिनीहरुमा चाँडो संक्रमण हुन सक्छ । एउटा आँखाबाट अर्को आँखा मा रोग नसरोस् भन्नका लागि संक्रमित आँखामा मात्र झोल औषधि को प्रयोग गर्ने र हात राम्ररी धुने गर्नुपर्दछ । यदि स्वास्थ्य सँग तथा बालबच्चा सँग सम्बन्धित काम गर्नु पर्ने छ भने काम मा जानका लागि चिकित्सक सँग परामर्श लिन सकिन्छ । एलर्जीको कुरा गर्नुपर्दा घाम, पानी, धुलो, धूवँ लगायतका कारण पनि आखाको एलर्जी हुनसक्छ । आँखाको एलर्जी भएमा आखा पोल्ने, चिलाउने तथा रातो हुने गर्दछ । घरबाहिर निस्कनु परेमा चश्माको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । मौसम र बाताबरणका कारण सक्रिय हुने एलर्जीबाट जोगिने भनेको आफूले अपनाउने सावधानी नै हो । घामका विकिरणहरुबाट जोगिन छत्रे टोपी (क्याप) लगाउने, छाता ओडने, धुलोबाट जोगिन चस्मा लगाउने गर्नुपर्छ । त्यस्तै घाममा नबस्ने तथा आँखामा चिलाउने रातो हुने भयो भने चिसो पानी आइसकोल्ड पानीले बाहिरबाट सेक्न सकिन्छ । त्यसबाहेक आँखा भित्र आर्टि्फिसियल टियर (आँसुको झोल) ले पनि सफा गर्न सकिन्छ । गाउँघरमा आर्टि्फिसियल आँशु नपाउन सकिन्छ त्यस्तो बेलामा उमालेको पानी ( डिस्टिल वाटर) ले पनि सफा गर्न सकिन्छ । तर समस्या परेका बेलामा जुन पायो त्यहि पानी आँखामा पार्नु हुदैन । त्यसरी प्रयोग गरिने पानीमा व्यक्टेरिया प्रोटोजोआ पनि हुनसक्छ । यसरी साधारण उपायले पनि समाधान भएन भने नजिकको आँखा उपचार केन्द्र वा नेत्र विशेषज्ञलाई देखाउन ढिला गर्नु हुदैन ।

धन्यावाद !

Facebook Comments