निलकण्ठ नगरपालिकाको विकास सदरमुकाम धादिङबेशी बजार केन्द्रित भएको नगरबासीले नैे गुनासो गरेका छन् । निलकण्ठ नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमको लागि गुनासो तथा सुझाव संक्रलन गर्न आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीले यस्तो गुनासो गरेका हुन् ।

नगरपालिकाले विहिबार भर्चुअल विधिबाट सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो । भर्चुअल विधिबाट भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको रेडियो धादिङले प्रत्यक्ष प्रसारण समेत गरेको थियो । कार्यक्रममा सहभागीहरुले नगरपालिका सबै क्षेत्रमा समान रुपले विकासको काम गर्न चुकेको गुनासो गर्दै आगमी दिनमा नगरभित्रका सबै क्षेत्रमा समान रुपले विकास निर्माणको काम गर्न सुझाव समेत दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, रोजगार, कृषि, कोरोना नियन्त्रणमा नगरपालिकाले खेलेको भुमिका लगायतका विषयमा नगरबासीले गुनासो तथा सुझाव दिएका छन् । गुनासो तथा सुझाव दिने क्रममा धादिङमा प्लस टुु का  कानुन विषय पढ्ने विद्यार्थीहरुले स्नातक, स्नातकोत्तरसम्मको पढाइको लागि जिल्लामै पढ्ने व्यवस्था गरिदिन माग गरेका छन् ।

राजधानीबाट नजिकको जिल्ला भएर पनि उच्च शिक्षाको लागि बाहिर जानुपर्ने बाध्यता रहेको, आर्थिक अवस्था कमजोर भएका विद्यार्थी जिल्लाबाहिर गएर पढ्न नसक्ने हुदा जिल्लामै स्नातक र स्नातकोत्तरको पढाइ भइ आवश्यक जनशक्ति पनि जिल्लाबाटै उत्पादन गर्न सकिने बताएका छन् । यस्तै सडकको विस्तार गर्दा नागरिकको सुरक्षालाई पनि ख्याल गर्न सुझाव दिएका छन् । हरेक वर्षको वर्षायाममा घरघरमा धमिलो खानेपानी आउने समस्या पूर्ण रुपमा समाधान गर्न माग गरेका छन् ।

नगरबासीको गुनासो सम्बोधन गर्दै मेयर भिमप्रसाद ढुङ्गानाले हामी जनप्रतिनिधि सधै सेवकको रुपमा निस्वार्थ रुपले नगरपालिकाको सम्पुर्ण क्षेत्रको विकासमा लागि परेको बताउनुभयो । पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण नगरपालिकाले निर्धारित गरेका कतिपय नीति तथा कार्यक्रम कार्यान्वयन गर्न नसकेको स्वीकार्दै आगामी दिन नगरबासीले दिएको गुनासो तथा सुझावको आधारमा सबैसँगै सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले आर्थिक वर्ष २०७८/०७९ को प्रस्तावित नीति तथा कार्यक्रमको खाका प्रस्तुत गर्नुभएको थियो । जसमा नगरपालिकाले दिगो विकास लक्ष्यको स्थायीकरण र प्राथमिकता, लैङ्गिक तथा समाजिक समावेशीकरणलाई जोड दिदै समविकासको आधारमा कुनै पनि जातिय तथा लैङ्गिक भेदभावमा शुन्य सहनशिलताको कार्यक्रम, कोरोना भाइरस विरुद्धको खोपको व्यवस्थापन, आवश्यकतामा आधारित रहेर कृषिमा व्यवसायिकरण, स्वरोजगार, उद्यमशिलता, खाद्य सुरक्षा, गरिबी निवारण, ७० वर्षमाथिका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार सेवा तथा घरदैलो स्वस्थ्य सेवालाई प्राथमिकता दिने प्रस्ताव गरेको छ ।

यस्तै दलित छात्रवृत्ति कोष, नगरस्तरिय समितिहरुमा दलित तथा विपन्न समुदायका व्यक्तिहरुको सहभागिता सुनिश्चित गर्ने, १ लाख राशिको निलकण्ठ पत्रकारिता पुरस्कारको घोषणा गर्ने योजना बनाएको ढुङ्गानाले बताउनुभयो । यस्तै ठुला आयोजना तथा विपद व्यवस्थापनमा अन्य स्थानीय तहसँग सहकार्य गरेर काम  गर्ने, आपतकालिन कार्य संचालन केन्द्र स्थापना तथा चौबिसै घण्टा उद्धारकर्मी र उद्धार सामग्रीको उपलब्धतालाई जोड दिने प्रस्ताव गरेको छ ।

नगरपालिकाले पहिलो पटक कला र साहित्य क्षेत्रको विकासको लािग प्रथम निलकण्ठ साहित्यिक सम्मेलन गर्ने योजना बनाएको ढुङ्गानाले बताउनुभयो । खेलकुदको विकासको लागि नगरपालिकाले विभिन्न समयमा जिल्लास्तरिय मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता गरेकोमा आगामी दिनमा  राष्ट्रिय स्तरकै खुला प्रतियोगिता गर्ने सोच बनाएको बताउनुभयो । मेयर ढुङ्गानाले नगरपालिकाले आगामी आर्थिक वर्षका लागि तयार पारेको प्रस्तावित नीति तथा कार्यक्रमको योजनाहरुको प्रस्तुत गर्नुहुदै अझै सुधार गर्नुपर्ने तथा थप गर्नुपर्ने केही भए नगरपालिकालाई जानकारी गराउन आग्रह समेत गर्नुभएको छ ।

Facebook Comments