
धादिङका अधिकांस स्थानमा लगाएको धान पाक्न थालेको छ । पाकेको धानलाई घरमा भित्¥याउन यतिबेला कृषकहरु तयारी अवस्थामा छन् । तर अबको केही दिन पानी पर्ने भएकाले धान नकाट्न कृषि विज्ञहरुले सुझाएका छन् । काटिहाले पनि काट्दा र थन्क्याउँदा विशेष ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् ।
अबको केही दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना भएकाले धान काटेर खेतमै छोड्दा नोक्सान हुन सक्ने भएकाले सकेसम्म धान नकाट्न कृषि विज्ञले सुझाव दिएका हुन् । धान काट्दा पनि सोचेर बुझेर मात्रै काट्न विज्ञहरुले अनुरोध गरेको छ । धान पाकेको छकी छैन भनेर बुझेर मात्रै धान काट्नुपर्ने कृषि अधिकृत छविलाल गुरुङको सुझाव छ । धानको दाना पूर्ण रुपले पहेंलो भएको हुनुपर्ने र दाँतले टोक्दा कटक्क आवाज आएको छ भने मात्र धान काट्ने बेला भएको भनेर बुझ्नुपर्ने गुरुङ बताउनुहुन्छ ।
धान धेरै नै पाकेर काट्नै पर्ने अवस्था भएमा, काट्दै झार्दै गरेर सुरक्षित ठाउँमा लगेर राख्न कृषि अधिकृच गुरुङ बताउनुहुन्छ । धान काट्ने बित्तिकै पानी नपर्ने ओभानो ठाउँमा लगेर फिँजारेर राख्नुपर्छ र पछि घाम लागेका बेला ३÷४ दिन घाममा सुकाएर मात्रै भण्डारण गर्नुपर्ने गुरुङले बताउनुभयो ।
धान काटेर घरमा ल्याईसकेपछि भण्डारणमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । धानलाई १२ प्रतिशत भन्दा कम चिस्यानमा राख्नुपर्ने उहाँले बताउनुभयो । जमिन धानलाई बोरामा भकारीमा राख्दा काठ विछ्याएर वा जमिन मुनीको चिसो नआउने तरिकाले सावधानी पूर्वक राख्नुपर्ने बताउनुहुन्छ । बजारमा अहिले सुधारिएको उन्नत भकारी पनि पाईने हुनाले त्यसको प्रयोग पनि गर्न सकिने उहाँले बताउनुभयो ।
ओभानो ठाउँमा लगेर राखेको धानलाई पनि बेला बेलामा चलाउने गर्नु पर्छ । त्यसो गर्न सकेमा धान नोक्सान हुन बाट जोगाउन सकिने उहाँले बताउनुभयो । नयाँ धानलाई पुरानो धान सँग नमिसाउने, भण्डारण गरिसकेपछि घुन, किराले पनि नोक्सान गर्ने भएकाले धानलाई जोगाउनुपर्ने उहाँको सुझाव छ । उज्यालो ठाउँमा धानलाई भण्डारण गर्ने, एक किलो अन्न बराबर, १० ग्राम बोजोको धुलो धानमा राख्ने, खरानी ईत्यादी घरेलु जैविक विषादी प्रयोग गरेर भण्डारण गरेको धानलाई जोगाउन सकिने गुरुङले बताउनुभयो ।
धादिङमा ११ हजार २ सय १२ हेक्टर क्षेत्रफलमा बर्खे र २ हजार ३ सय ८८ हेक्टर चैते धान गरि १३ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । गत वर्ष वर्खे र चैते धान गरेर १ लाख ९ हजार १ सय मेट्रिकटन धान उत्पादन भएको र यो वर्ष मनसुन समयमै भएकोले यो वर्ष धान उत्पदान वृद्धि हुने प्रक्षेपण रहेको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत (आंठौ तह) कमलराज शर्माले जानकारी दिनुभयो ।
धादिङको निलकण्ठ, धुनिवेशीं नगरपालिका, त्रिपुरासुन्दरी, नेत्रावती, वेनिघाट रोराङ, गजुरी, थांक्रे, गल्छी लगायतका क्षेत्रहरुलाई बर्खे धानको खेती हुने पकेट क्षेत्र मानिन्छ । धादिङमा हाईब्रिड जातका धान वाई ३१२ , उन्नत जातका सावित्री, मकवानपुरे १, सुख्खा १, २, ३ , खुमल ४, ७, ६ लगायतका धान रोपाई हुँदै आएको छ । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपालको १७ जिल्ला मध्ये धादिङ पनि वर्षभरी अन्न खान पुग्ने जिल्ला हो ।