
धादिङ तमु (गुरुङ) समाज काठमाडौं उपत्यकाको आह्वानमा सञ्चालित ‘शरण गुरुङ बचाउ अभियान’ अन्तर्गत संकलित आर्थिक सहयोग रकम बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ । समाजले शरन गुरुङको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले वैशाख २० गतेदेखि आर्थिक संकलन अभियान सञ्चालन गरेको थियो ।
४१ दिनसम्म सञ्चालन भएको अभियानबाट देश तथा विदेशमा रहेका नेपाली तथा शुभेच्छुकहरूबाट संकलित ४ लाख ९६ हजार २ सय ८८ रुपैयाँ शनिबार समाजको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बिरामी शरन गुरुङका बुबा बुद्धि बहादुर गुरुङ लाई हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष बेद बहादुर गुरुङले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष सन्तबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको रकम हस्तान्तरण कार्यक्रममा संस्थाका कार्यसमिति पदाधिकारी, सदस्य तथा अन्य आमन्त्रित व्यक्तिहरूको उपस्थिति रहेको थियो। अभियान सफल बनाउन देश तथा विदेशबाट आर्थिक सहयोग प्रदान गर्ने सम्पूर्ण दाताप्रति समाजले आभार व्यक्त गरेको छ।
समाजका प्रतिनिधिहरूले सहयोगीहरूको उदारताले उपचारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, अभियान औपचारिक रूपमा सम्पन्न भइसकेको भए पनि सहयोग गर्न इच्छुक महानुभावहरूले अब प्रत्यक्ष रूपमा बिरामी तथा उनको परिवारलाई भेटी सहयोग गर्न सकिने समाजले बताएको छ ।
यस्तै बिरामीका बुवा बुद्धि बहादुर गुरुङले सम्पूर्ण सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ । अप्लाष्टिङ एनिमिया जस्तो गम्भिर रोगबाट पिडित धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानी गुरुङ गाउँ निवासी २४ वर्षिय शरण गुरुङको उपचारमा आर्थिक अभाव भएपछि विभिन्न व्यक्ती तथा संस्थाहरुले आर्थिक सकंलन अभियान सञ्चालन गरेको छ ।
परिवारका अनुसार शरण गुरुङको उपचार नेपालमा संम्भव नरहेको र ४० देखि ५० लाख रुपैयाँ लाग्ने बताएको छ ।
सम्बन्धित समाचारहरु :