कार्तिक १,  २०७८
नेकपा (एमाले) ले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गरेको छ । यहि कार्तिक ६ गते शनिबार देशभरका ६ हजार ७ सय ४५ वडामा अधिवेशनबाट नयाँ नेतृत्व चयन हुन लागेको हो । यस अघि नियमित रुपमा अधिवेशन हुने गरे पनि नेकपा एमाले र मओवादी केन्द्रबीचको एकताबाट नेकपा भएपछि अधिवेशन नभएको र दुईवटा पार्टी पुन पूर्ववत अवस्थामा आएपछि नेकपा एमालेले सबै तहको अधिवेशन गर्ने निर्णय गरेको हो । मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । वडा अधिवेशन लगतै कार्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनहरूको उद्घाटन तथा शुभकामना सन्देश दिनेछ ।

एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकायका रुपमा रहेको छ । वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुनेछ । कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । जस अनुसार गाउँपालिका / नगरपालिकाको वडा कमिटी ३१ सदस्यीय, उपमहानगरपालिकाको वडा कमिटी ४१ र महानगरपालिकाको वडा कमिटी ५१ सदस्यीय हुनेछ । साथै गाउँपालिका / नगरपालिका कमिटी ७५, उपमहानगरपालिका कमिटी ८५ र महानगरपालिका कमिटी १०१ सदस्यीय हुने नेकपा एमाले ले जनाएको छ । नेकपा एमाले को मंसिरमा हुने दशौं राष्ट्रिय महाधिवेशन लुम्बिनी प्रदेशको राजधानी बुटवलमा गर्ने तयारी गरेको नेकपा एमालेले जनाएको छ ।

Facebook Comments