आज डिसेम्बर ५ तारिख । अन्तर्राष्ट्रिय स्तरमा स्वयंसेवकको रुपमा काम गर्ने व्यक्तित्वको उच्च सम्मानस्वरुप हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने गरिन्छ ।

नेपालमा भने महिला स्वास्थ्य सेविकालाई नै स्वयंसेवकका रुपमा उच्च सम्मान गर्दै डिसेम्बर ५ तारिखमा महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइन्छ । यस वर्षको दिवस १८ औं महिला स्वास्थ्य स्वयम् सेविका दिवस हो । आधारभूत स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पु¥याउने उद्देश्य अनुरुप नेपालमा स्वास्थ्य स्वयंसेवक कार्यक्रमको सूत्रपात भएको हो ।

१८ औं महिला स्वास्थ्य स्वयम् सेविका दिवस धादिङका विभिन्न स्थानीय तहमा विशेष कार्यक्रमहरु आयोजना गर्दै मनाइएको छ । दिवस मनाउने क्रममा बेनिघाटरोराङ गाउँपालिकाले ६० वर्ष उमेर पूरा गरेका स्यम्सेविकालाई सम्मान गर्दै विदाई गरेको छ । विदाईका क्रममा उनीहरुलाई जनही ५१ हजार रुपैंया प्रोत्साहन स्वरुप दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकरवावु दुवाडीले बताउनु भयो ।

विदाईका क्रममा उनीहरुलाई सम्मान पत्र समेत प्रदान गरेको पनि दुवाडीले जानकारी दिनुभयो । संघिय सरकारले उपलव्ध गराएको जनही २० हजार रुपैयाँमा गाउँपालिकाले थप ३१ हजार रुपैयाँ सहित सम्मान गर्दै कामबाट विदाई गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले बताउनु भयो । महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गर्दै गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले हरेक वडाका जनतालाई आधारभूत स्वास्थ्य सेवा सन्देश पु¥याउने संवाहकका रुपमा स्वयम्सेविकाले गरेको कामको प्रशंसा गर्नुभएको थियो । गाउँपालिकाको सिमित श्रोत साभनले गर्दा चाहेर पनि धेरै आर्थिक सहयोग गर्न नसकेको बताउँदै अध्यक्ष डल्लाकोटीले आगामी वर्षहरुमा पूनर्विचार गर्दै जाने पनि बताउनु भयो ।

यस्तै धुनिबेशी नगरपालीकामा पनि १८ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ ।

नगरपालिकाले आज नगरपालिकाभित्रका उत्कृष्ठ काम गर्ने स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ । नगरपालिकाभित्रका उत्कृष्ठ काम गर्ने ३ ओटा स्वास्थ्य चौकिका ३ जना स्वास्थ्य स्वयंसेविकालाई नगद ५ हजार सहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको धुनिबेशी नगरपालीकाका प्रमुख बाल कृष्ण आचार्यले जानकारी दिनुभयो । त्यस्तै यस अघि नै राजिनामा दिएका ३ जना स्वास्थ्य स्वयंसेविकालाई पनि आजै नगद ५० हजार सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरी बिदाई गरिएको पनि उहाँले बताउनुभयो ।

Facebook Comments