१० असोज, २०७८
धादिङ – आगामी मार्च ८ तारिख अर्थात फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ भन्ने नारासाथ विभिन्न क्षेत्रमा क्रियाशिल २७ जना महिलाले काठमाडौँदेखि कालापत्थरसम्म पदयात्रा गर्ने भएको छ । विशेष गरि जलवायु परिवर्तन र यसले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन महिलाहरुले यो पदयात्रा गर्न लागेको हो । ‘साथसाथै’ नामक संस्थाको संयोजनमा हुन लागेको पदयात्राको मुख्य उद्देश्य हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारणले पारेको असर विश्वसामु उजागर गर्न र त्यसले महिलाहरुमा उत्पन्न गरेको समस्याको समाधान र न्यायका लागि वकालत गर्ने रहेको छ । यसका साथै जलवायु परिवर्तनका कारण प्रत्येक वर्ष हिमाली क्षेत्रमा हिउँ पग्लने क्रम बढेकाले, जलवायु अनुकूलन र जलवायु परिवर्तनबारे महिलालाई सचेतना जगाउने पनि यसको उद्देश्य रहेको छ ।

विश्वमा हरित ग्यास उत्सर्जनले तापमानमा आएको वृद्धिसँगै जलवायु परिवर्तनका विभिन्न असरहरु देखिन थालेको छ । हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भएपनि जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको छ । यस विषयलाई पनि विश्वको ध्यानाकर्षण गराउने महिला पदयात्रा अभियानको उद्देश्य रहेको छ । अध्यायनका अनुसार सन् २०१० सम्मको अवधिमा हिमालमा हिउँको मात्रा झण्डै २९ प्रतिशतले घटेको र हिमतालको संख्या ११ प्रतिशतले बढेको देखिन्छ । पृथक भौगोलिक अवस्था, प्राकृतिक स्रोत, साधनमा आधारित जीविकोपार्जन, गरिबी, सिमान्तकृत समुदाय र न्यून आर्थिक क्षमताका कारण नेपाल विश्वका जोखिमयुक्त मुलुकहरुको सुचिमा रहेको छ ।