१७ बैशाख, धादिङ ।
कल्पना अधिकारी नेपाली कांग्रेसको महासमिति सदस्य हुनुहुन्छ । तर यहि बैशाख ३० गते हुने आसन्न निर्वाचनमा नेपाली कांग्रेसबाट यो वर्ष पनि उहाँले नीलकण्ठ नगरपालिकाको उपमेयरको टिकट पाउनुभएन । उहाँले नीलकण्ठ नगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवार दिनुभएको थियो । २०७४ सालको स्थानीय निर्वाचनमा अधिकारीले टिकट लिएर मतदाताको घरदैलो समेत पुग्नुभएकी थियो । तर नेपाली कांग्रेस र माओवादी केन्द्र विच तालमेल भएपछि उहाँको उमपेयर बन्ने सपना तुहियो ।
स्थानीय तहको निर्वाचनमा पार्टीको लागि त्याग गर्ने भन्दा पनि पहँुचको आधारमा टिकट वितरण भएको छ । उहाँले भन्नुभयो– ‘साढे दुइ दशक देखि पार्टीमा सक्रिय छु । मजदुर आन्दोलनबाट शुरु गरेपनि पार्टीको विभिन्न पदहरुमा काम गरेको अनुभव छ । गत वर्ष पनि टिकट दिएर गठबन्धनका कारण फिर्ता लियो । यस वर्ष पनि उस्तै नियति दोहोरियो । पार्टीको लागि त्याग हो भनेर २०७४ मा छाडियो । म एकल महिला हुँ । नगरपालिका बनाउने मिसन, भिजन र गोल मसँग छ । महिलाले नेतृत्व गर्न सक्दैन भन्ने राजनीतिक भ्रम चिर्न र समाज रुपान्तरणका लागि मेरो स्वतन्त्र उम्मेदवारी हो ।’ उहाँले भन्नुभयो ।
गत स्थानीय तहको निर्वाचनमा नीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रविच तालमेल भएको थियो । मेयर नेपाली कांग्रेस र उपेमयर माओवादी केन्द्रको भाग परेपछि अधिकारीले पार्टीको लागि उम्मेदवारी फिर्ता लिएको बताउनुहुन्छ । यस आसन्न निर्वाचनमा पनि नेपाली कांग्रेस र माओवादी केन्द्र सत्ता गठबन्धनमै छ । पार्टीलाई उहि पद भाग परेको हो । गठबन्धन विपरित स्वतन्त्र उम्मेदवार बनेकाहरुलाई नेपाली कांग्रेसले कार्वाहि गर्न विज्ञप्ति समेत निकालेको छ । उहाँले भन्नुभयो– ‘यति लामो समय पार्टीको लागि त्याग गरियो । तर पार्टी भित्र बसेर संघर्ष गर्दा आफ्नो अस्तित्व कायम गर्न सकिदैन भने यो भन्दा ठूलो कार्वाहि के हुन सक्छ । पार्टीले कार्वाहि गर्ला, निस्काशन गर्ला भन्ने डर छैन ।’
धादिङमा नेपाली कांग्रेस मात्र होइन, अन्य राजनितिक दलहरुमा पनि बागी उम्मेदवारले फिर्ता लिएका छैनन् । थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट तीन जनाको उम्मेदवारी परेको थियो । पार्टीले रामकुमार आचार्यको नाममा निर्वाचन आयोगलाई आधिकारिक पत्र पठाएपछि नेकपा एमालेबाटै उम्मेदवारी दिएका कृष्ण पन्तको उम्मेदवारी रद्ध भएको थियो । थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका गोकर्ण रुपाखेतीले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । तर उहाँले फिर्ता लिनुभएन । पालिकाको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
नेकपा एमालेकै उत्तम अधिकारीले नेत्रावती डवजोङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । उहाँले पनि उम्मेद्वारी फिर्ता लिनुभएको छैन । पालिकाको विकास र जनताको चाहनाका कारण पनि आफुले उम्मेदवारी दिएको अधिकारी बताउनुहुन्छ ।
ज्वालामुखी गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट बागी उम्मेदवार युवा दिनेश रमण आचार्यले पनि मनोनयन फिर्ता गर्नुभएको छैन । पालिकादेखि वडासम्मै बागी उम्मेदवारहरु रहेका छन् । तर अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । नीलकण्ठ नगरपालिका ३ मा नेपाली कांग्रेसका बागी उम्मेदवार राजकुमार श्रेष्ठ र वडा नं. ८ मा प्रकाश कुमार श्रेष्ठले पनि उम्मेदवारी कायमै राखेका छन् ।

 

Facebook Comments