
मंसिर १७,धादिङ – मुरलीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्था लि. को १३ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दुर्गा दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान विकास लघु वित्तिय संस्था एवं नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेम पाठकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उक्त वडाका वडा अध्यक्ष राजन बराईलीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका बहुसंख्यक शेयर सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी खेम पाठकले सहकारी संस्थाका मालिक एवं शेयर सदस्यहरुले संस्थाको समग्र विषयमा जानकारी राख्दै संस्थाको वृहत्तर हित र विकासको लागि काम गर्नुपर्ने बताउनुभयो ।
यस संस्थाको लागि महिला आमा, दिदीबहिनीहरुले आफ्नो एक गाँस कटाएर, चुरा, धागो, कपडा, लगाएतका सामानको कटौती गरी दुख, कष्ठ सहेर बचाएको थोरै–थोरै पैसा संस्थामा लगानी गरेकै कारण आज यो संस्था ठूलो भएको बताउनुभयो । त्यस कारण संस्थाको समग्र विषयमा सबैले चासो र चिन्ता लिनुपर्ने पनि बताउनुभयो ।
२०६६ सालमा स्थापना भएको यस संस्थाले विशेष गरि ग्रामिण क्षेत्रमा बसोवास गर्ने कृषक सदस्यहरुको जीविकोपार्जन आर्थिक तथा सामाजिक विकासका लागि कामहरु गर्दै आएको छ । विशेष गरि कृषकहरुलाइ समूहमा संगठित गरि थोरै–थोरै आर्थिक स्रोतको नियमित बचत गर्ने बानिको विकास गर्दै, आर्थिक तथा सामाजिक विकासको लागि विभिन्न किसिमका तालिम कार्यक्रमको आयोजना गरि आत्मनिर्भर बनाउने, आर्थिक स्रोतको व्यवस्थापन सहित लगानीका विभिन्न क्षेत्रहरुको पहिचानमा समेत शेयर सदस्यहरुलाइ सहयोग गर्दै आएको छ ।
१ हजार १ सय १८ जना शेयर सदस्य रहेको यस संस्थाको हालसम्म कुल शेयर पुँजी १ करोड १९ लाख १८ हजार ८ सय रहेको छ । संस्थाले ४ सय ८५ जना शेयर सदस्यहरुलाइ जम्मा १४ करोड १४ लाख ७४ हजार ९ सय ८७ रुपैंया बराबरको रकम लगानी गरेको छ । ५ करोड २६ हजार ४ सय एकासी रुपैंया बचत गरेका छन् ।
संस्थाले १३ वर्ष पूरा गर्दै गर्दा कुल १५ करोड ९८ लाख २५ हजार ४ सय ८१ रुपैंया बराबरको कारोबार गर्न सफल भएको छ । संस्थामा हाल प्रबन्धक, सहायक प्रबन्धक, पशु प्राविधिक र फिल्ड सहायक सहित चार जना कर्मचारीहरु कार्यरत रहेका छन् । साविकको मुरलीभञ्ज्याङ गाविस कार्यक्षेत्र रहेको यस संस्था हाल नीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ र ९ भएको छ । यस संस्थाले साविकको ९ वटा वडाहरुमा एक–एक वटा अन्तरसमूह गठन गरी काम गरिरहेका छन् ।