
हिन्दु धर्मावलम्बीहरुको महान् चाड अन्तर्गत दशैँ र तिहार सबैभन्दा ठुला चाड हुन् । दशैँको रमझम सकिदै गर्दा दिनदिनै तिहारको रौनक बढ्दै छ । तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो।
यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्ष को द्वितीया तिथिको भाइटीका सम्म (पाँच दिन) मनाइन्छ। पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ। यो पाँच दिवसीय पर्व लाई विशेष गरी हिन्दू धर्मावलम्वीले दीपावली को रूपमा धूमधामसाथ मनाउँछन् ।
यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ। यही दिन भगवान् धन्वन्तरी को जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ। यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास रहेको छ। त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ।
यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ। पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ। तिहारको सबैभन्दा ठुलो विशेषतामध्ये भाइटिका पनि एक हो । यस चाडले चेलीबेटी र माइतीबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिबिम्बित गर्छ ।
यता चेलीबेटीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो, तेलले छेकेर, मखमली, सयपत्रीको मालासँगै सप्तरङ्गी टिका लगाइदिन्छन् भने उता दाजुभाइले पनि आफ्ना चेलीबेटीको आशीर्वादलाई खुल्ला हृदयले स्वीकार्छन् । त्यसैले यो दिन खास छ । भाइटिका खास हुनुको अर्को कारण भनेको यसमा पूजा गर्ने विधि पनि हो । सामान्यतः कुनै धार्मिक वा सांस्कृतिक कार्यक्रममा अक्षता वा अविर, केशरीको टिका लगाउने हिन्दू संस्कृतिले यो दिन सातवटा छुट्टाछुट्टै रङ्गको टिका लगाउन भन्छ ।
त्यसैगरी, सयपत्री र मखमलीकै माला लगाइदिनुपर्ने, तेल र पानीले छेक्नुपर्ने, फूल अपर्ण गर्ने छुट्टै तरिका, ओखर फुटाउने, मसाला, रोटी लगायत मीठा खानेकुराहरु दिनुपर्ने आदिजस्ता प्रक्रियाले पनि भाइटिकालाई विशेष बनाउँछ । यमुनाले आफ्ना दाजु यमराजलाई कसैले मार्न नसकोस् भन्ने कामना गर्दैभाइटिका लगाइदिएकी थिइन् ।उनले यमराजलाई आफ्नै घरमा आउन निम्तो दिइन् अनि,तेल र दुबोले छेकेर, मखमली, सयपत्रीको माला लगाइदिएर भाइटिका लगाइदिइन् ।
यसरी भाइटिका लगाइदिने परम्पराको शुरुवात भयो । तर, समयसँगै भाइटिकामा सप्तरङ्गी टिका लगाइदिने चलनको विकास हुँदै गयो ।यी सातैवटा रङ्गले तिहारसँग सम्बन्धित अरु तत्त्वलाई संकेत गर्दछ । त्यस्तै, मखमली माला र दुबो कहिल्यै नओइल्याउने भएकाले र तेल कहिल्यै नसुक्ने भएकाले यी तीन तत्त्वको प्रयोगले आफ्ना दाजुभाइ पनि अजम्बरी हुन् भन्ने मनोकांक्षालाई प्रतिबिम्बित गर्दछ ।
दाजुभाइलाई टिका लगाइदिनुभन्दा अघि ओखर फुटाउनु र अमिलोको पूजा गर्नुले नकारात्मक शक्तिहरु आफ्ना माइतीबाट टाढौ रहुन् भन्ने दर्साउँछ । तर हामी जस्ता दिदीबहिनी नहुनेहरुको लागि यो सप्तरङ्गी टीका, मखमली माला, दुबो र ओखरको कुनै अर्थ नै नहुने रैछ । दिदिबहिनी नहुनेहरुको चाँहि साँच्चिकै यो तिहार अनि भाइटिका एकदमै नरमाइलो चाड रहेछ । मलाई सबैभन्दा नरमाइलो लाग्ने महान् चाड नै तिहार हो । त्यसैले मलाई यस्तो लाग्छ कि यो तिहार भन्ने चाड कहिल्यै नआएपनि हुन्थ्यो ।
लेखक दिपेश बसौला त्रिपुरासुन्दरी गा.पा – ०६, धादिङका मंगलादेवी मा.वि का विज्ञान शिक्षक हुन् ।