सरकारले डेङ्गी सङ्क्रमितहरूको उपचार निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालय तथा अन्तर्गतका विभाग सङ्घीय अस्पताल, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखहरूसँग  बुधबार भएको छलफलले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीकाअनुसार बैठकले आ–आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने, डेङ्गी डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने र सरकारी अस्पतालमा बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । नेपालका ७३ वटा जिल्लाहरूमा २ हजार ३ सय ६५ डेङ्गी सङ्क्रमितहरू पुष्टी भएका छन् ।

जसमध्ये तनहुँमा एक ५० वर्षिय पुरुषको मृत्यु भएको छ । यस वर्ष सबैभन्दा बढी बागमती प्रदेशमा डेङ्गी सङ्क्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कअनुसार बागमतीमा ७ सय ४७, कोशीमा ५ सय ३७, गण्डकीमा ५ सय ८, लुम्बिनीमा २ सय ४७, सुदूरपश्चिममा २ सय ४२, मधेसमा ४७ र कर्णाली प्रदेशमा ३८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

Facebook Comments