नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ धादिङले सुनचाँदी व्यवसायमा थपिएको अनावश्यक करमा गम्भिर आपत्ति जनाउदै जिल्ला प्रशासन कार्यालय धादिङलाई सयुक्त ज्ञापन पत्र बुझाएको छ । सोमबार संघका अध्यक्ष कुमार विश्वकर्माको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेलाई ज्ञापन पत्र बुझाएको हो ।

हालै नेपाल सरकारद्धारा २०८२/०८३ को बजेट वक्तव्य मार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनाको व्यवसायमा गरिएका थप व्यवस्था प्रति संघको आपत्ति रहेको भन्दै संयुक्त ज्ञापन पत्र बुझाएको हो । गर गहनामा लागु गरिएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमुल्य पत्थर जडित गहनामा लागु गरिएको १३ प्रतिशत मुल्य अभिवृद्धि कर (भ्याट) प्रति संघका अध्यक्षले हस्ताक्षर गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

भारतमा भन्दा नेपालमा सुनको गहना मुल्य ४ प्रतिशतले अर्थात करिव ८ हजार प्रति तौलको फरक हुने र हिरा जवाहरातका गहनामा भारतमा बढिमा ४.२६ प्रतिशत (जिंएस टि र अन्य शूल्क सहित) रहेकोमा नेपालमा १३ प्रतिशत भ्याट लागू भए पछि मूल्यमा ठूलो अन्तर भई यसले नेपालको तराई क्षेत्रका बजार मात्र प्रभावित नभई सिंगो देशकै बजार प्रभावित हुने भई यसले देशको सुनचाँदी बजार धरासायी हुने निश्चित भएको उल्लेख छ ।

सुनचाँदी तथा हिरा-पत्थर जडित गहनाको कारोबारमा फिर्ता विक्री ग्यारेन्टी अनिवार्य भएकोले बजार कायम राख्न विक्री मूल्य र खरिद मूल्यमा कम भन्दा कम फरक हुनुपर्दछ । तर, करको यो नयाँ संरचनाले त्यसमा ठूलो बाधा पुर्याउने निश्चित प्रायःदेखिन्छ । सुनको आकासिँदो मूल्यले सुनचाँदी बजारमा पहिल्यै मन्दी ल्याइसकेको अवस्थामा कर वृद्धिको यो व्यवस्थाले थप मन्दी सिर्जना गर्ने निश्चित छ। यसबाट लाखौं व्यवसायी तथा कालीगढ र मजदुरको रोजगारी र जीविकोपार्जन धरासायी हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले ज्ञापनपत्र बुझ्दै आफुले यि मागहरूलाई सम्वन्धित निकायमा पुर्याउने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Facebook Comments