
धादिङको गजुरी गाउँपालिका वडा नं. ६ आदमघाटस्थित पृथ्वी राजमार्गमा आइतबार साँझ माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार साँझ करिब ४:२० बजे काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ७२२१ नम्बरको इभी माइक्रोबस आफैं अनियन्त्रित भई सडक किनारको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो। उक्त सवारीमा चालक र सहचालकसहित १४ जना सवार थिए।
दुर्घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी धादिङ अस्पताल र आदमघाट अस्पतालमा उपचारका लागि पठाइएको थियो। घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको छ भने ३ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा माइक्रोबसको अगाडिको भाग पूर्ण रूपमा क्षति पुगेको छ। चालक डडेलधुरा, गन्यापधुरा गाउँपालिका–१ का ४२ वर्षीय रतन बहादुर महता प्रहरी नियन्त्रणमा रहेका छन्। घटनापछि सडक अवरुद्ध नभएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं रिफर गरिएका घाइतेहरू:
- मनाली मगर (१४) — रोल्पा, थवाङ गाउँपालिका–२
- रिमिता खत्री (५५) — काठमाडौं, तारकेश्वर नगरपालिका–५
- अम्बिक मल्ल (३१) — म्याग्दी, रघुगंगा गाउँपालिका–३
- प्रकाश मगर (२४) — (सहचालक), घर रसुवा
- अन्जिता गुरुङ (२१) — गोरखा, पालुङटार नगरपालिका–१
उपचारपछि डिस्चार्ज भएका घाइतेहरू:
- शिशिर बि.क. (२८) — बेनीघाट रोराङ गाउँपालिका–२, धादिङ
- दीपक राना (४३) — तनहुँ, व्यास नगरपालिका–१०
- जुनिमाया बुढा मगर (४५) — रोल्पा, थवाङ गाउँपालिका–१