
कात्तिक २० । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले लास पालमसलाई ३–० ले हराएर महत्वपूर्ण तीन अंक जोडेको हो । 
च्याम्पियन्स लिग अन्तर्गत टोटनह्यामसँगको हारबाट बाहिर निस्कँदै जित लिगमा जित निकाल्ने क्रममा रियल मड्रिडका लागि कासेमिरो, मार्को एसेन्सिओ र इस्काले गोल गरे । गएको सिजन ला लिगा तथा च्याम्पियन्स लिगको उपाधि जितेको रियल मड्रिडले आफ्नो खेलको उच्च स्तरको लय समात्न अझै सकेको छैन । तर आइतबार रातिको खेलमा भने रियलको प्रदर्शन अघिल्ला खेलमा भन्दा धेरै सुधार भएको विश्लेषकले बताएका छन् ।
४१ औं मिनेटमा कासेमिरोलो गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए । दोस्रो हाफको सुरु (५६ औं मिनेट) मा मार्को एसेन्सिओले ३० यार्डबाट प्रहार गरेको रकेट सटमार्फा भएको गोल ला लिगामा यो सिजनमा अहिलेसम्मकै उत्कृष्ट गोल रहेको विश्लेषण गरिएको छ । ७४ औं मिनेटमा इस्कोको गोलका लागि सहयोग गरेका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो आफैले भने गोल गर्न सकेनन् । 
यो सिजन लिगका सुरुका चार खेल गुमाएका रोनाल्डोले अहिलेसम्म लिगमा एक गोल मात्रै गरेका छन् । जितपछि तेस्रो स्थानको रियलको ११ खेलबाट २३ अंक भएको छ । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ८ अंकले पछि छ भने दोस्रो स्थानको भ्यालेन्सिया भन्दा चार अंकले । राति नै भएका अरु खेलमा जिरोनाले लेभान्टेलाई २–१ तथा सेल्टा डि भिगोले एथ्लेटिको बिल्बाओ र रियल सोसिडाडले एइबरलाई समान ३–१ ले हराए । यस्तै भिल्लारियलले मालागालाई २–० ले हरायो । 
