
अषाढ ६, धादिङ ।
धादिङको गल्छि गाउँपालिका वडा नम्बर ६ बाझगाउँमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
गल्छिको सिरुबानीबाट बैरैनी बजार तर्फ आउदै गरेको बा १८ च ९४०८ नम्बरको जिप दुर्घटनामा परेको हो । मृत्युहुनेमा गल्छि गाउँपालिका वडा नम्बर ४ का ३८ बर्षिय राजु रम्तेल, सोहि स्थानकै ३२ बर्षिय सेते मिजार, गल्छि गाउँपालिका वडा नम्बर ६ बस्ने ३० बर्षिया कान्छि भुजेल र सोही स्थान बस्ने ३५ बर्षिया नानु तामाङको घटनास्थलमै र २१ वर्षीय सविता अधिकारीको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
दुर्घटनामा परि १० जना घाईते भएका छन् । घाईते हुनेहरुमा गल्छी गाउँपालिका वडा नम्बर ४ बस्ने ६२ वर्षिय बिष्णु अधिकारी, ३५ वर्षिया सुनिता मिजार, २३ वर्षिया सुजिता अधिकारी, १५ वर्षिय सन्तोष रम्तेल, ७० वर्षिय कृष्ण सार्की, २८ वर्षिया रेनु भण्डारी, ३५ वर्षिय राम कृष्ण प्याकुरेल, २६ वर्षिया शुष्मा लामा र ठेगाना नखुलेका २ जना पुरुष रहेका छन् । घाईतेहरुको स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि काठमाण्डौंको ट्रमा सेन्टरमा पठाईएको छ । बोलेरो जिप गाउँबाट तरकारी सहित यात्रु लिएर बैरेनी बजार तर्फ आउदै गरेको थियो ।
हिजो विहिबार पनि धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ डाँडागाउँस्थित पाङग्रेखोलाको उकालोमा बोलेरो जिप दुर्घटना हुँदा १ को मृत्यु ४ जना घाईते भएका थिए ।