फागुन २६, धादिङ ।

जिल्लाकै ऐतिहासिक धार्मिक स्थलको रुपमा परिचित जलमुखी मन्दीर संरक्षणको लागि भन्दै स्थानियहरु एक जुट हुन थालेका छन् । जलमुखी संरक्षण समिति नै बनाएर मन्दीरको संरक्षण र संवद्र्धनको लागि एक जुट हुन थालेका हुन् ।

निलकण्ठ नगरपालिका–९ र ज्वालमुखी गाउँपालिका–६ मा पर्ने यस मन्दिरको संरक्षण र संवद्र्धनको लागि स्थानिय तहबाट कुनै पनि सहयोग नआएको भन्दै मन्दिर व्यवस्थापन र मर्मत सम्भारको लागि स्थानियहरु नै जुट्न थालेको मन्दिर संरक्षण समितिका अध्यक्ष बाबुकाजी श्रेष्ठले बताउनुभयो ।

मन्दिरमा आउने भक्तजनहरुबाट संकलित दान र अन्य सहयोगी मनहरुबाट संकलित सहयोग रकमले मन्दिरमा विभिन्न काम गर्दै आएको श्रेष्ठले बताउनुभयो । यस्तै मन्दिर संरक्षण समितिले  फागुपूर्णिमा मेलाको अवसरमा अहिले सम्म मन्दिरमा धेरै पटक र धेरै सहयोग गर्ने सहयोगीदाता निलकण्ठ नगरपालिका ९ काफलपानीका खड्क बहादुर गुरुङलाई सोमबार भव्य स्वागत तथा सम्मान गरेको छ ।

मन्दिरमा ५ लाख बराबरको बत्ती जडान गरिदिएको भन्दै खड्क बहादुर गुरुङ सहित गुरुङको परिवारलाई मन्दिर संरक्षण समितिले आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । स्थानिय सरकार, जनप्रतिनिधिले मन्दिरलाई वेवास्ता गरेपनि खुल्ला मनले पटक पटक मन्दिरको लागि सहयोग गरेको भन्दै सम्मान गरेको मन्दिर संरक्षण समितिले जनाएको छ । गुरुङको व्यक्तीगत सहयोग नगद ९० हजार र गुरुङकै पहलमा अन्य सहयोगीहरुबाट उठेको रकमले मन्दिरमा बत्ती बाल्न सफल भएको हो ।

सोमबार समाजसेवी खड्कबहादुर गुरुङका ९० वर्षिया वृद्धा आमा सुकुमाया गुरुङले स्विच थिचेर बत्तीको उद्घाटन गर्नुभयो हो । रातको समयमा भक्तजनहरुका लागि अप्ठ्यारो भएकोले आफुले मन्दिरमा बत्तीको व्यवस्था गरिदिएको समाजसेवी खड्कबहादुर गुरुङले बताउनुभयो । मन्दिर जानेबाटोदेखी मन्दिर सम्म झलमल्ल बत्ती बल्न थालेपछि भक्तजनहरु खुशी भएका छन् ।

समाजसेवी गुरुङले गत वर्षको फागुपुर्णिमाको दिन मन्दिरमा आफ्नो आमा-बुवाको नाममा १० लाख बराबरको घण्टी सहयोग गर्नुभएको थियो । मन्दिर संरक्षण समितिसँगै ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ मा रहेका विभिन्न आमा समुहले पनि सोमबार खड्क बहादुर गुरुङलाई दोसल्ला, अविर तथा फुलमाला लगाएर सम्मान गरेका छन् । सवल र सक्षम समुह व्यवस्थापनको लागि भन्दै नगद सहयोग र एक लाख बराबरको टेन्ट सहयोग गरेको भन्दै आमा समुहले गुरुङलाई सम्मान गरेको हो ।

यस्तै निलकण्ठ नगरपालिका ९ काफलपानीका गुरुङ आमा समुहले पनि सम्मान गरेको थियो । जलमुखी मन्दिर संरक्षण समितिका अध्यक्ष बाबुकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजसेवी खड्कबहादुर गुरुङको प्रमुख आतिथ्य रहेको थियो । सोमबार फागुपुर्णिमाको दिनमा पनि भव्य मेला लागेको थियो । मेला भर्न धादिङ सहित नुवाकोट, रसुवा, गोरखा, काठमाण्डौं लगायतका स्थानबाट भक्तालुजनहरुको घुँईचो लागेको थियो । झण्डै १४ सय मीटर उचाईमा अबस्थित जलमुखी मन्दिर महत्त्वपूर्ण ऐतिहासिक स्थलको रुपमा रहेको छ । यस स्थलबाट अाँखुको काखैमा रहेको समतल भुमी एबं नेपालकै ठूलो टारहरुमध्ये पर्ने सल्यान्टार र पश्चिम बग्ने अाँखु, बुढी गण्डकी नदि देख्न सकिन्छ भने उत्तर तर्फ थुप्रै हिम शृङ्खलाहरु देख्न सकिन्छ ।

फोटो हेर्नुहोस् :-

 

 

Facebook Comments