
केहिदिन अघि मात्रै क्यूएए प्राप्त गर्न सफल भएको धादिङ जिल्लाकै पहिलो सामुदायिक क्याम्पस निलकण्ठ बहुमुखी क्याम्पसलाई अर्काे सफलता मिलेको छ । क्याम्पसकी विद्यार्थी विवेचना सिलवाल स्नातक तह प्रथम वर्षको शिक्षा शास्त्र सङ्कायको परीक्षामा नेपाल प्रथम हुनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयद्धारा गत भाद्रमा लिइएको परिक्षामा सिलवाल प्रथम हुनुभएको हो । शिक्षाशास्त्र संकाय अन्तरगत अङ्ग्रेजी विषय अध्ययनरत सिलवाल ४ सय २५ अङ्क तथा ७०.८३ प्रतिशत ल्याई नेपाल प्रथम हुनुभएको नीलकण्ठ बहूमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्माले बताउनु भयो । यस्तै सोही तहमा अध्ययनरत नीलकण्ठ बहूमुखी क्याम्पसकै हिरालक्ष्मी श्रेष्ठ कुल ४ सय ९ अङ्क तथा ६८.१६ प्रतिशत सहित नेपाल तृतीय हुनुभएको क्याम्पस प्रमुख शर्माले बताउनु भयो ।
नीलकण्ठ क्याम्पसमा स्नातक तहमा शिक्षाशास्त्र, व्यवस्थापन र मानविकी तथा स्नातकोत्तर तहमा शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायको पठनपाठन भइरहेको छ ।