
विकास आजको आवश्यकता हो, तर विकासले विनास निम्तिए त्यो विकासको के अर्थ ? त्यसैले विकास निर्माणको योजना तयार गर्दा दिर्घकाल सम्म नागरिकलाई पुग्ने फाईदा वेफाईदाको लेखाजोखा हुन आवश्यक छ । तर नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भोजबहादुर रेग्मीलाई यस्ता कुराको ‘छुमतलब’ ? वडा अध्यक्षमा निर्वाचित भएदेखिनै विवादमा परिरहेका उनै वडा अध्यक्ष भोजबहादुर रेग्मी फेरी एकपटमा विवादमा आएका छन् ।
विकास गर्ने नाउँमा विनास गरेको भन्दै वडा नम्बर ९ पाल्पा भञ्ज्याङ, खोप गैरागाउँका स्थानियहरु आक्रोसीत बनेका छन् । त्यहाँका स्थानियहरुले सार्वजनिक जग्गा भित्र रहेका प्राकृतिक सम्पदाहरुको संरक्षण गरि पाउँ भनी जिल्ला प्रशासन कार्यालय धादिङलाई सामुहिक निवेदन दिएका छन् ।

ग्राबेलमा ढुङ्गा माटो हालेर जनताले तिरेका करको व्यापक दुरुपयोग भएको र प्राकृतिक श्रोतको दोहनले सिङ्गो वस्तीनै पहिरोको जोखिममा परेको स्थानियहरुले गुनासो गरेका छन् । वडा भित्रका सडकमा ग्राबेल गर्ने भन्दै धादिङ आरुघाट सडकखण्डको पाल्पा भञ्ज्याङ, चैनपुर सडकको खोप गैरा, कमेरे खोला लगायतका सार्वजनीक जग्गाभित्रको प्राकृतिक सम्पदाको दोहन गर्ने कार्य भएको सामुहिक निवेदनमा उल्लेख गरीएकोे छ ।
ग्राबेल भएका सडकका काम पनि कमसल भइरहेकोले व्यक्तिहरुको धन, श्रम, बस्ती र धादिङ आरुघाट सडक र पाल्पा भञ्ज्याङ, चैनपुर सडकसमेत बाढि पहिरो जोखिममा रहेकोले ग्राबेल झिक्ने कार्य तत्काल बन्द गर्न स्थानियहरुले माग गरेका छन् । पहिरोको जोखीम हुने भन्दै पटक पटक वडा अध्यक्षलाई मौखिक र लिखित रुपमा जानकारी गराउँदा पनि बल पूर्वक दोहन गर्न नरोकिएपछि प्रशासनलाई गुहार्न परेको स्थानियहरुले बताएका छन् ।

स्थानियहरुले क्षती भएका जमिनहरुको मुआब्जा दिलाइ दिन समेत प्रमुख जिल्ला अधिकारी मार्फत माग गरेका छन् । वडाले त्यस स्थानबाट उत्खनन् गरि वडाका विभिन्न सडकमा ग्रावेल गर्ने काम गरेको छ । वडाले गरेको ग्रावेल गुणस्तरिय नभएको भन्दै पटक पटक स्थानियहरुद्वारा प्रश्न उठ्ने गरेको छ ।

नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्मा सहित प्रभावित स्थानियहरु । तस्विर : रेडियो धादिङ