
सिद्धलेक गाउँपालिकाले बुधबारबाट जेष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम शुरु गरेको छ । जेष्ठ नागरिकहरुमा भएका स्वास्थ्य समस्याहरुको पहिचान गर्ने तथा लेखाजोखा राख्ने, स्थानीय स्तरमा समाधान गर्न सकिने स्वास्थ्य समस्याहरुको समाधान गरी आवश्यक भएमा थप उपचारका लागी माथिल्लो निकायमा समयमै प्रेषण गर्ने र जेष्ठ नागरिकहरुको समग्र स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम शुरु गरेको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो ।
प्रत्येक महिनाको २७ गतेदेखी ३० गतेसम्म जम्मा ४ दिन विहान १०ः०० बजेदेखी बेलुका ५ः०० बजेसम्म घर दैलो भेटगरी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण, उपचार तथा सुझाव सल्लाह प्रदान गर्ने कार्यक्रम रहेको पनि अध्यक्ष सिलवालले गर्नुभयो । कार्यक्रम अन्तरगत जेष्ठ नागरिकलाई दिईने औषधि निःशुल्क हुने, आवश्यकता अनुसार अभिलेख राख्ने, जनप्रतिनिधिहरु तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहयोग लिई कार्यक्रम बारे नागरिकलाई पुर्व सु–सुचित गराईने गोजना रहेको अध्यक्ष सिलवाल बताउनुहुन्छ ।
गाउँपालिकाद्यारा बुधबार आयोजित जेष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम शुभारम्भका अवसरमा उपाध्यक्ष कमला शर्माले कार्यक्रमको नियमित रुपमा गाउँँपालिकाबाट अनुगमन, मुल्याङ्कन तथा सुपरिवेक्षण गरिने, र अनुगमन टोलिले जेष्ठ नागरिकको घरमा गई कार्यक्रमको औचित्य तथा प्रभावकारीता बारे अनुगमन गर्नुका साथै जेष्ठ नागरिकबाट आएका गुनासो तथा सुझाबहरु संकलन गरिने बताउनु भयो । कार्यक्र बारे जानकारी गराउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले सिद्धलेक गाउँपालिकाका सबै वडा अन्तर्गतका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य केन्द्र र स्वास्थ्य विन्दुमा कार्यरत २२ जना स्वास्थ्यकर्मीलाई यस कार्यक्रममा खटाईने बताउनुभयो ।

यसरी स्वास्थ्यकर्मीलाई खटाउँदा कार्यालयको नियमित काम भने नरोकिने शर्माको भनाईछ । चालु आर्थिक वर्षको अन्तिम चौमासिकमा शुरु भएको कार्यक्रम भएकोले यस वर्ष कार्यक्रम शुभारम्भ तथा स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गर्न एकलाख रुपैयाँ, औषधी तथा उपकरण खरिद गर्न चारलाख रुपैयाँ, स्थ्यकर्मीलाई यातायात खर्च बापत एकलाख ३२ हजार रुपैयाँ, फिल्डमा जाँदा चाहिने लजिस्टिक सामान (झोला, छाता लगायतका लागि ८० हजार रुपैयाँ, कार्यक्रमको अनुगमन गर्न ३८ हजार रुपैयाँ र फर्म तथा फरम्याट छपाई एवं रजिष्ट्रर लगायतका स्टेशनरी सामानका लागि ५० हजार रुपैयाँगरि आठलाख रुपैयाँ विनियोजन भएको पनि प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।
कार्यक्रम सञ्चालनकालागि आवश्यक उपकरण तथा औषधीहरु तोकिएका स्वास्थ्य संस्थाहरुमा गाउँपालिकाले उपलव्ध गराउनेछ भने जेष्ठ नागरिकले पाउने स्वास्थ्य सेवा निशुल्क हुने बताइएको छ । जेष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रमको शुभारम्भ कार्यक्रममा विचिन्न राजनीतिक पार्टीका पतिनिधिहरु, स्वास्थ्यकर्मीहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । जेष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम धादिङ जिल्लामै पहिलो रहेको सिद्धलेक गाउँपालिकाले दावी गरेको छ ।