
संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारले बजेट अध्यादेशमा प्रतिस्थापन विधेयक ल्याएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभयो ।
बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो ।पुर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको बजेटमा बर्तमान सरकारले प्रतिस्थापन विधेयक ल्याएको हो ।
अर्थमन्त्री शर्माले बिधेययक प्रस्तुत गर्दै गर्दा एमालेका सांसदहरुले भने निरन्तर रुपमा बिरोध गरिरहेका थिए । संसदमा मर्यादापालक खटाएर सरकारले संसद अगाडी बढाएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद तथा मर्यादापालकहरुबीच बैठकमा भएको घम्साघम्सीमा सत्ता पक्षको पहिलो लहरको टेबल समेत भाँचिएको छ ।
एमालेका सांसदहरुको नाराबाजीका कारण बैठक १५ मिनेट स्थगित भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय दिनुभएको थियो । त्यस समयमा एमालेका सांसद र मर्यादापालकहरुबीच घम्साघम्सी सुरु भएको थियो ।