भनिन्छ प्रसव पिडा शब्दमा व्यक्त गर्न सकिदैन, यो भोग्नेलाई मात्रै थाहा हुन्छ । सिद्धलेक–१ अर्चले नयाँबस्तीकी १८ वर्षिया गर्भवती आशा परियारलाई प्रशव पिडा त थियो नै त्यो सँगै विच सडकमा सुत्केरी हुनुपर्दाको अर्काे पिडा पनि भोग्नुप¥यो ।

सोमबार सँझ सम्म घरको काम सकेर सामान्य अवस्थामा सुतेकी आशालाई १२ बजेपछि एक्कासी पेट दुख्न सुरु भयोे, ४ बजे झनै च्याप्यो । त्यतीबेला सम्म उनलाई सुत्केरी व्यथा लागेको पत्तै भएन । किनकी अस्पतालले दिएको समय आउन अझै २ महिना बाँकी नै थियो ।

गाउँमा सडक छ तर बर्खाको वेला एम्बुलेन्स पुग्न सक्दैन । गाउँकै स्वास्थ्य चौकी पुग्न घरबाट २ घण्टा उकालो हिड्न पर्छ । सदरमुकाम धादिङवेशीं आउने सडक सम्म १ घण्टामै आउन सकिन्छ । त्यसैले २ घण्टाको उकालो भन्दा १ घण्टाको ओरालो झर्नै वेश ठानेर आशाले धादिङ अस्पताल पुग्ने निर्णय गरिन् ।

तर बैरेनी आईपुगेपछि कसैको घरमा आड लाग्न समेत भ्याईनन् सडक छेउमै छोरी जन्माईन् । आशा भन्छिन्, ‘चिप्लो ओारालो बाटो लड्दै ढल्दै यहाँ सम्म आईपुगे, अस्पताल पुग्नै भ्याईन ।’ स्थानिय सुवास लंसाल लगायत अन्यको सहयोगमा आशाले १ किलो ४ सय ग्रामकी छोरी जन्माईन् । जन्म त दिईन् तर बच्चा र आमालाई कसरी सुरक्षीत राख्ने भन्ने दोधारकै वावजुत नलाङ स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट प्रतिमा तिमिल्सीना टुप्लुक्क पुगिन् ।

प्रतिमाले नजिकै रहेको भेटेरेनरी पसलबाट ग्लोप्स मागिन् अनि बच्चा र आमाको सरसफाई लगायतका कामहरु गरिन् र अस्पताल पठाईन् । ‘ढुङ्गा खोज्दा देउता भेटेसरी भयो, उहाँ नआउनुभएको भए मेरो श्रीमती र बच्चा जे पनि हुनसक्थ्यो होला धन्न उहाँ आईपुग्नुभयो आशाका श्रीमान् जगत परियाले खुशी हुँदै भन्नुभयो । ’

स्वास्थ्यकर्मीका अनुसार आमाको अवस्था सामान्य छ, बच्चालाई थप स्याहारको लागि काठमाण्डौं स्थित कान्ती अस्पताल लगिएको छ ।

प्रतिमा, जो भगवान बनेर पुगिन् 

प्रशव पिडाले विक्षप्त बनेर बसेकी एउटा आमाको कारुणीक दृश्य शब्दमा बयान गर्न सक्दिनन्, प्रतिमा तिमिल्सीना । स्वास्थ्य चौकी जाँदै थिए, मानिसहरुको भिड थियो, एकजना चिनेको सुवास लंसाल दाईले त्यही भिडमा लिएर जानुभयो सडकको कुनामा एउटा तन्नामा राखेर बच्चा आधा आधी मात्रै निस्केको देंखे, त्यो दृश्यले मन थाम्नै सकिन, मन त आत्तियो तै पनि आफुलाई सम्हाले र सिमित स्रोत साधनविनै सुत्केरी गराउन सफल भएँ । बच्चा जन्मेपछि उहाँको परिवारले घर लैजाने भन्दै हुनुहन्थ्यो, मैले अस्पताल लैजान पर्छ भन्ने सल्लाह दिए, मिति नपुग्दै बच्चा जन्मिएको छ, आमा ब्लिडिङ पनि हुन सक्छ भनेर मैले स्वास्थ्य लाभको कामना गर्दै अस्पताल पठाएँ । स्वास्थ्य सेवाको अवधीमा पहिलो पटक यसरी सडकको छेउँमा सुत्केरी गराउन सफल भएँ, आफ्नो धर्म निभाए आत्मासन्तुष्टी मिलेको छ  ।
( हेल्थ असिस्टेन्ट प्रतिमा तिमिल्सीनाकै भनाईमा आधारित…)

यतिबेला सामाजिक संञ्जालमा स्वास्थ्यकर्मी प्रतिमा तिमिल्सीनाको कामलाई लिएर बधाई दिनेहरु बढिरहेका छन् ।

सुत्केरीको अस्पतालमा लागेको खर्च गाउँपालिकाले व्यहोर्ने

आशा परियार सुत्केरी हुँदाको खर्च सबै गाउँपालिकाले व्यहोर्ने भएको छ । सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले सुत्केरी हुँदा लागेको खर्च, एम्बुलेन्स भाडा लगायतका सबै खर्चहरु गाउँपालिकाले व्यहोर्ने बताउनुभयो ।

अहिले कान्ती वाल अस्पताल काठमाण्डौंमा रहेका आमा र बच्चाको अवस्था सामान्य रहेको आशाको परिवारले बताएको छ ।

Facebook Comments